२०८१ बैशाख २१ , शुक्रवार

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री चौधरी

Capture

सुनाखरी न्युज/ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् ।

 

सोमबार नवलपरासी पश्चिम भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरिरहेको गर्दै आएको छ । संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन । मेरो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको छु ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले सरावल गाउँपालिका वडा नं ३ का २५ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी लालपुर्जा प्रदान गरिन् । लामो समयको प्रतीक्षा पछि नवलपरासीको ९पश्चिम० सराबल गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन । उनले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने बताइन् ।‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री चौधरीले भनिन्, ‘मैले नेतृत्व सम्हाले देखि देशका बिभिन्न स्थानका भूमिहीनहरूलाई जमिन उपलब्ध गराउनका निम्ति दुर्तगतिमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ ।

आजदेखि यस पालिकामा पनि औपचारिक रूपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गयौँ, यस अभियानले देशभर निरन्तरता पाउने नै छ ।’ भूमिहीन दलित सुकुम्वासीहरूलाई भूमिमाथिको पहुँच पुर्‍याउने उद्देश्यका साथ तीनतहका सरकारको सहकार्यमा कार्यक्रम अघि बढिरहेको बताइन् ।