२०८१ बैशाख २१ , शुक्रवार

निगम जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती

sudan-3

सुनाखरी न्युज/ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको आजको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिनुभयो ।

“दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छौँ”, उहाँले भन्नुभयो । निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मन्त्रालयको नीतिगत सुधार र योजनाबद्ध कार्यक्रम अघि बढाइने बताउनुभयो । बैठकमा समिति सभापति राजकिशोर यादवले मन्त्रालयको नीतिगत सुधार र सामूहिक पहलकदमीका लागि मन्त्रलाईलाई समितिले भरपुर सहयोग गर्ने विश्वास दिलाउनुभयो । समितिको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ब्रिफिङ लिएको हो । मन्त्रालयका सचिव भरतमणि सुवेदीले मन्त्रालयको कार्य प्रगतिबारे प्रस्तुति दिनुभएको थियो ।

विमानस्थल सञ्चालन किन नगरेको ? : सांसद

आजको बैठकमा सांसदहरुले मुलुकमा विमानस्थलको प्रभावकारी सञ्चालन गर्न मन्त्रालय र मातहत निकायको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा समिति सदस्यले दबाबका भरमा विमानस्थल निर्माण गर्ने प्रवृत्ति बन्द गर्न र भएका विमानस्थलको व्यावसायिक प्रयोजनमा ल्याउन सुझाव दिनुभयो । अर्बौं खर्चेर बनाइएका हवाई पूर्वाधारको प्रभावकारी सञ्चालन नहुँदा मुलुकलाई आर्थिकरुपमा भार बढिरहेको उहाँहरुको भनाइ थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाउन पनि सांसदहरुले माग गर्नुभएको छ ।

सांसद डा धवलशम्शेर जङ्गबहादुर राणाले विमानस्थल बने पनि प्रभावकारी सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले हवाई पूर्वाधारमा गरिएको लगानीको प्रतिफल कहिले प्राप्त गर्ने भनी प्रश्न गर्नुभयो । सांसद राणाले नेपाललाई हवाई रुट दिनेबारे भारतसँग भइरहेको पछिल्लो प्रगतिबारे जानकारी गराउन पनि माग गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मुलुकभर हाल ५५ वटा विमानस्थल छन् । तीमध्ये ३४ वटा सञ्चालनमा छन् भने २१ वटा विमानस्थल बन्द छन् । त्यसैगरी दुई वटा विमानस्थल निर्माणाधीन छन् ।

सांसद उदयशम्शेर जङ्गबहादुर राणाले आन्तरिक विमानस्थलको क्षमता अभिवृद्धिका लागि टर्मिनल भवनलगायतका पूर्वाधार निर्माणमा अर्बौं रकम खर्च भएको भन्दै ती विमानस्थलको दिगो व्यवस्थापनको योजना अभाव रहेको उल्लेख गर्नुभयो ।

उहाँले विराटनगर, भरतपुर, नेपालगञ्जलगायत विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि ठूलो रकम खर्च भएको भन्दै अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आवश्यकता र औचित्यताका आधारमामात्रै विमानस्थलको स्तरोन्नत्ति गर्न आग्रह गर्नुभयो ।

सांसद एकनाथ ढकालले नेपालमा विदेशी पर्यटक आगमन बढाउन मन्त्रालयले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सुधार गरी निगमको सेवालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिशिर खनालले भैरहवाबाट काठमाडौँ ट्रान्जिट भएर विभिन्न गन्तव्यको उडान असुरक्षित र आर्थिकरुपमा महँगो भएको बताउनुभयो । उहाँले नेपालको हवाईमार्गबारे भारतसँग भएको प्रगतिबारे जानकारी गराउन पर्यटन मन्त्रीलाई आग्रह गर्नुभयो ।

सांसद सुनिता बरालले दुर्गम क्षेत्रको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रभु साहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रगतिबारे समितिलाई अवगत गराउन माग गर्नुभयो ।

बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै पर्यटनमन्त्री सुदन किरातीले विमानस्थल निर्माण भए पनि सबै विमानस्थल प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा आन्तरिक विमानस्थलको भरपूर सदुपयोगका लागि पहल भइरहेको उल्लेख गर्नुभयो ।

“कतिपय विषय निकै गम्भीर छन् । हवाई संरचना (विमानस्थल) बनाउने अनि हवाई जहाज नउडाउने”, पर्यटनमन्त्री किरातीले भन्नुभयो, “अहिले पनि २२ वटा विमानस्थलमा उडान भएको छैन त्यहाँ खर्बांै बजेट लगानी भएको छ । बनिसकेका विमानस्थलको प्रभावकारी सञ्चालनका लागि मन्त्रालय योजनाबद्धरुपमा अघि बढेको छ ।”

उहाँले विसं २०३५ को ऐनलाई संशोधन र परिमार्जन गरी समयसापेक्ष नयाँ ऐन ल्याउन मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो । पर्यटनमन्त्री किरातीले पर्यटनलाई अर्थतन्त्रको आधार मानिए पनि यो राज्यको प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो ।
रासस