
सुनाखरी न्युज/ काठमाडौं ।
खोटाङको साकेला गाउँपालिकाले विकास निर्माणका काममा जनश्रमदान अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका सबै ग्रामीण सडक बाह्रै महिना सञ्चालनमा ल्याउन तथा गोरेटोबाटो, पुलपुलेसा र सार्वजनिकस्थल मर्मतका लागि उक्त अभियान सञ्चालन गर्न लागिएको हो ।
वर्षात्का कारण बिग्रिएर क्षतिग्रस्त बनेका ग्रामीण सडक, गोरेटो बाटो, पुलपुलेसा तथा सार्वजनिकस्थल नियमित मर्मत गर्नका लागि गाउँ कार्यपालिकाको बैठकबाट निर्णय पारित गरिएको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । “सबै कामका लागि गाउँपालिकाले बजेट दिनसक्ने अवस्था छैन । आफ्नो ठाउँको विकासका लागि हामी आफैँ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “ग्रामीण सडक बाह्रै महिना सञ्चालनमा ल्याउन तथा सार्वजनिकस्थल मर्मत गर्न प्रत्येक वडामा कम्तीमा महिनामा दुई दिन अनिवार्य जनश्रमदान अभियान सञ्चालन गर्ने गरी निर्णय गरेका छौँ ।”
गाउँपालिकाको पाँचवटै वडाले नेतृत्व गर्नेगरी अनिवार्यरुपमा जनश्रमदान अभियान सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ । वडा नं ३ वडा कार्यालय खिदिमाले यसअघिदेखि नै महिनाको दुईपटक श्रमदान अभियान सञ्चालन गर्दै आएको छ । वडा कार्यालयले सञ्चालन गर्दै आएको श्रमदान अभियान प्रभावकारी भएको उहाँको भनाइ छ । श्रमदान अभियानबाट राज्यको खर्च जोगिने खिदिमाका वडाध्यक्ष गोविन्द तामाङ बताउनुहुन्छ ।
दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ग्रामीण सडक तथा गोरेटो बाटो, सार्वजनिकस्थल, पुलपुलेसालगायतका ठाउँ मर्मतका लागि यसअघिबाटै जनश्रमदान अभियान सञ्चालन गरिएको छ ।
रासस