२०८१ बैशाख १५ , शनिवार

गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाले आगामी दसैँको घटस्थपानाका दिनसम्म भए पनि विद्युत्गृहमा बिजुली बाल्ने तयारी भएको जानकारी दिनुभयो । चुकेनी आयोजनाको प्रगतिबारे जानकारी लिन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसहितको टोली शुक्रबार आयोजनास्थलमा पुगेर अनुगमनसमेत गरेको छ । सो टोलीलाई निर्माणको जिम्मेवारी पाएको फेवा कन्स्ट्रक्सन प्रालि र वैकल्पिक ऊर्जाको टिमले दसैँसम्म पावरहाउसमा बिजुली बाल्ने गरी काम तीव्रगतिमा भइरहेको जानकारी दिएको छ ।

इन्जिनियर थपलियाका अनुसार आयोजनाको जेनेरेसनको काम ८५ प्रतिशत र लाइन विस्तार गर्ने काम गत आर्थिक वर्षको अन्तिमतिर नै सम्पन्न भइसकेको छ । आयोजनाको बिजुली यहाँका गाउँ–गाउँमा पुग्न अझै एक वर्ष जति समय लाग्ने उहाँको भनाइ छ ।

उक्त आयोजनामा वैकल्पिक ऊर्जाको रु ३१ करोड लगानी छ भने गाउँपालिका र स्थानीय जनताको रु १३ करोड लगानी छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घर जग्गाको लालपुर्जा धरौटीमा राखेर रु छ करोड बराबरको सेयर लगानी गरेको चुकेनीखोला सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य शाहीले चुकेनी जलविद्युत्ले जिल्लाको विद्युत् सेवामा निकै महत्त्वपुर्ण भमिका खेल्ने बताउनुभयो ।

यसैबीच जिल्लामा प्रसारण लाइन पुग्ने पनि स्थानीयवासीलाई राम्रोसँग सेवा प्रवाह दिन सकेको छैन । चुकेनी जलविद्युत्लाई थप स्तरवृद्धि गर्नका लागि प्रदेश सकारसँग बजेटको माग गरिने भएको छ । जनताले तिर्नुपर्ने सेयर सांसद विकास कोषबाट भए पनि दिन तयार रहेको उहाँको भनाइ छ । चुकेनीखोलाको बिजुली छिटोभन्दा छिटो उत्पादन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।

नौ सय ९८ किलोवाट क्षमता रहेको आयोजनाबाट बिजुली उत्पादन हुने पातारासी गाउँपालिकाले जनाएको छ । विसं २०७६ जेठ १० गते सम्झौता भई आयोजनाको काम अगाडि बढेको थियो । अठार महिनाभित्र सकिने आयोजनाको काम कोरोना र अन्य कारणले चार वर्ष पार गरिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । रासस