
सुनाखरी न्युज/ काठमाडौं ।
कोशी सरकारविरुद्धको रिटमा निर्धारित सुनुवाइ स्थगित भएको छ । यो रिट आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको थियो ।
तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् ।
यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।
त्यसअघि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरेको र यो गैरसंवैधानिक भएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।