२०८१ जेठ ५ , शनिवार

पठन संस्कृति जगाउँदै राणाकालीन विद्यामन्दिर पुस्तकालय

library

सुनाखरी न्युज/ काठमाडौं ।
धौलागिरीको जेठो सामुदायिक पुस्तकालय ‘विद्यामन्दिर पुस्तकालय’ स्थापना भएको ७७ वर्ष पूरा भएको छ । राणाकालीन समयमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले गोरखपुरबाट पुस्तक खरिद गरेर सो पुस्तकालय स्थापना गर्नुभएको थियो ।

सत्र हजार भन्दा बढी पुस्तक सङ्ग्रहित रहेको पुस्तकालयको अहिलेको चुनौती भनेको आम पाठकको अभिरुचि नै हो । कुनै दिन पाठकले भरिभराउ हुने उक्त पुस्तकालयमा अहिले मुस्किलले दुई दर्जन पाठक पुग्ने गरेका छन् । पछिल्लो पुस्तामा पठन संस्कृतिको विकास नहुनु र डिजिटिल माध्यममा विद्यार्थीले समय व्यतित गर्दा सामुदायिक पुस्तकालयमा विद्यार्थीको आकर्षण घटिरहेको जनाइएको छ । पछिल्लो समय सामुदायिक पुस्तकालय धरासायी भइरहेको सन्र्दभमा यहाँको राणाकालीन पुस्तकालय भने पठन संस्कृति जगाउन प्रयासरत देखिन्छ ।

यसका लागि पुस्तकालयले आफूलाई परिमार्जन गर्दै प्रविधिमैत्री हुने, पठन संस्कृतिको विकास गराउने रचनात्मक क्रियाकलाप जस्ता रोचक कार्यक्रममा सक्रिय देखिएको छ । पुस्तकालयले विद्यार्थीलाई पुस्तकालयमा पठन सस्कृतिप्रति अभिरुचि जगाउन एक पछि अर्को अभियान चाल्दै आएको हो । पुस्तकको महत्व बढाउँदै पठन संस्कृतिको विकास गर्नका लागि विद्यार्थी लक्षित कार्यक्रम चलाइरहेको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले बताउनुभयो ।

एक महिना अघिमात्रै ‘बाजेबज्यैको कथा मेरो सचित्र’ कार्यक्रममार्फत विद्यार्थी लक्षित कार्यक्रम गरेको पुस्तकालयले अहिले ‘पुस्तौँपुस्तका लागि पुस्तकालय’, ‘ज्ञानका लागि पुस्तकालय’, ‘किन पढ्ने पुस्तक’र पुस्तकालय अब इतिहास कि आवश्यकता लगायतका विभिन्न शीर्षकमा कार्यक्रम तथा बहस गरिएको उहाँले जानकारी दिनुभयो ।

“चार÷पाँचवर्ष पहिलासम्म दैनिक सय÷दुई सयको हाराहारीमा पाठक पुस्तकालय आउथे, अहिले पाठक घटेका छन्, हुनत पुस्तक किनेर घरमै पढ्ने चलन आइसक्यो कम्प्युटरमा अनलाइन पुस्तकसमेत पढ्न पाइने व्यवस्था पुस्तकालयमा छ” उहाँले भन्नुभयो “पठन संस्कृतिको विकास गर्न विद्यालयका विद्यार्थीलाई पुस्तकालयमा आमन्त्रण गर्ने, अध्ययन अवलोकन भ्रमण गराउने, हस्तलिखित पुस्तकसमेत देखाउने गरेका छौंँ, ऐतिहासिक दस्तावेजसमेत भएको यस पुस्तकालयमा धेरै पुस्तक अन्यत्र पाइदैनन्, हामीले पाठक आकर्षण गर्नका लागि रचनात्मक काम गर्दै आएका हौँ ।”१६औँं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर विद्यामन्दिर पुस्तकालयले पुस्तकालय र पुस्तकको महत्वको विषयमा वक्तृत्वकला समेत आयोजना गरेको छ ।

यस्तै उपन्यासकार तथा लेखक गणेश पौडेलसँग ‘पुस्तक किन पढ्न’े भन्ने विषयमा संवाद गरिएको छ भने वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ र पत्रकार मुकेशचन्द्र राजभण्डारीसँग पुस्तकालय अब आवश्यकता कि इतिहास भन्ने विषयमा अन्तरसंवाद गरिएको हो । उक्त अन्तर संवादमासमेत पुस्तकप्रेमी र विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराइएको थियो ।

अन्तर संवादमा ‘पैतला’ उपन्यासका लेखक पौडेलले विद्यालयको कितावसँगै अतिरिक्त समयमा पुस्तकालयका किताब पढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले अध्ययन बिना कुनै विज्ञता हासिल गर्न नसकिने भन्दै अध्ययनको दायरा फराकिलो बनाउन पुस्तक पढ्न आवश्यक रहेको बताउनुभयो । “१० कक्षासम्म अध्ययन गरेका विद्यार्थीले कम्तीमा १० पाठ्यक्रम बाहिरका पुस्तक अध्ययन गर्न आवश्यक हुन्छ, पठन संस्कृति नहुँदा सामाजिक सञ्जालमा समय बिताउने परिपाटीले हामीलाई सही स्थानमा लादैन नत गन्तव्यमै पु¥याउछ” उहाँले भन्नुभयो “अध्ययनको सिमा साँघुरो भएको छ अहिले अध्ययनलाई बढाउन सके मात्रै सबैभन्दा अब्बल भइन्छ, विद्यार्थीले कम्तीमा वर्षको एउटा अतिरिक्त पुस्तक भए पनि पढ्न आवश्यक छ ।”

पत्रकार राजभण्डारीले पुस्तकालयले पाठक खोज्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको जनाउँदै पुस्तकालयले नयाँ र पुरानो पुस्तालाई जोड्न प्रविधिलाई समेत जोड्नुपर्ने बताउनुभयो । “राणाशासनमा गोराखपुरबाट खच्चडमा बोकाएर खोलामा डुङ्गा तारेर पुस्तक ल्याएर स्थापना गरेको विद्यामन्दिर पुस्तकालयको ऐतिहासिक महत्व रहेको, हस्तलिखित पुस्तक सङ्ग्रह गरिएको र धौलागिरिका लेखकद्वारा लेखिएको पुस्तककोसमेत सङ्ग्रह गरिएको पुस्तकालय अध्ययनशील र पाठकप्रेमीका लागि निकै लाभनीय हुनेछ” उहाँले भन्नुभयो “पहिला पुस्तकालय खोज्दै पाठक आउथे अहिले विद्यामन्दिर पुस्तकालय पाठकको खोजीमा कहिले विद्यालय पुगेको छ भने कहिले पठन संस्कृतिको विकासका लागि रचनात्मक काम गर्दै आएको छ ।”

पाठक आकर्षित गर्न नसक्दा बागलुङको अर्को पुरानो सामुदायिक पुस्तकालय ज्ञानोदय भगवती सामुदायिक पुस्तकालय अहिले बन्द रहेको सन्र्दभमा धौलागिरिकै जेठो पुस्तकालय विद्यामिन्दर पुस्तकालयले भने आफ्नो सक्रियता देखाइरहेको छ ।
रासस