२०८१ बैशाख २३ , आइतवार

बजेट तान्न होइन, सुशासन प्रवर्धनमा लागौँ : सभापति पन्थ

Sunakhari4

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवद्र्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।

 

उहाँले सुशासन प्रवद्र्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनमा काम गर्न आवश्यक रहेको बताउनुभयो । राससँग कुराकानी गर्दै सभापति पन्थले भन्नुभयो, “भ्रष्टाचारलगायतका जति पनि विकृति, अनियमित र बेथितिलाई अन्त्य गर्न संसदीय समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।”

 

उहाँले सरकार विकास र समृद्धिका कार्यक्रमलाई जोड दिने तथा दलका नेता र जनप्रतिनिधि पनि विकासका नाममा आफ्ना क्षेत्रमा बजेट धेरै तान्न होडबाजीले सुशासन प्रवद्र्धन र दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती खडा गर्ने विचार प्रकट गर्नुभयो । मुलुकको सोह्रौँ पञ्चवर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच अघि सारेको उल्लेख गर्दै उहाँले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने मामिलामा जनप्रतिनिधिको खबरदारी आवश्यक रहेको धारणा राख्नुभयो ।

 

यसैबीच, समितिले सुशासन प्रवद्र्धन सम्बन्धमा अध्ययन, अनुगमन र राज्यका सम्बन्धित निकाय र सरोकारवालासँग आवश्यक छलफल गर्न सुशासन प्रवद्र्धन तथा अनुगमन गर्न रमेशजङ्ग रायमाझीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । सभापति पन्थको अध्यक्षतामा बिहीबार बसेको बैठकले गठन गरेको उपसमितिका सदस्यमा नारायणप्रसाद दाहाल र शारदादेवी भट्ट रहनुभएको छ । रासस