२०८१ जेठ ५ , शनिवार

‘हिमालयको देश नेपालले विश्वमा पूर्वीय दर्शनको नेतृत्व गर्न सक्छ’

Capture – 2023-08-30T180349.286

सुनाखरी न्युज/ काठमाडौं ।
सूचना प्रविधिको विकास भएको अहिलेको युगमा प्राचीन संस्कृत भाषाको महत्त्व अझ बढ्न थालेको छ । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन समिति र भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा कालीदास जयन्ती एवं विश्व संस्कृत दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताले संस्कृतको महत्त्व अब विश्वका विकसित देशमा पनि बढ्न थालेको भनाइ राख्नुभयो ।

चिन्मय इन्टरनेसनल फाउन्डेसनका प्राज्ञिक निर्देशक तथा चिन्मय विश्वविद्यालय केरलाकी पूर्वकुलपति प्रा गौरी माहुलीकरले कालीदासले कुमारसम्भव महाकाव्यमा उल्लेख गर्नुभएको नगाधिराज भएको नेपालले विश्वमा पूर्वीय दर्शनका ज्ञानको नेतृत्व गर्नसक्ने विचार राख्नुभयो । कालिदासको देवतात्मा काव्यकलाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले काव्यवैभव तथा काव्यकलाको महत्व कालिदासको कुमारसम्भव काव्यमा रहेको बताउनुभयो । कुमार सम्भवको प्रथम र पञ्चम सर्गमा हिमालयको विशेष चर्चा पाइन्छ । हिमको घर नै हिमालय हो । त्यो हिमालय भएको देश नेपाल नै भएको उल्लेख गर्नुहुँदै उहाँले मृत्युसञ्जीवनी बुटी पाइने औषधिप्रस्थ हिमालय कालिदासको मतमा पृथ्वीको मानदण्ड भएको सुनाउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संस्कृतभाषा लेख्यरूपमा सुरक्षित हुन सकेकाले प्राचीन भाषा भएको बताउनुभयो ।

संस्कृत भाषामा पौरस्त्य दर्शन, साहित्य, कला आदि भएकाले संस्कृत सर्वदा जीवन्त रहेको उहाँको भनाइ थियो । प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा संस्कृत भाषाका कविता पनि आउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान विभाग प्रमुख डा काशीनाथ न्यौपानेले सबैले संस्कृतमै बोलचाल गर्न सकिने बताउनुहुँदै हनुमान र रावणलेसमेत संस्कृत बोल्ने गरेको स्मरण गर्नुभयो ।

राम, सीतासमेतले संस्कृत बोलेको पौराणिक मान्यताका आधारमा यसलाई देवभाषा, राक्षसभाषा, नारीभाषा, पशुभाषा भन्न सकिने बताउनुभयो । सबैको साझा भाषाका रूपमा संस्कृत भाषा रहेको छ । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावरी वापट, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकाल, नेसंवि प्राध्यापक सङ्घका केन्द्रीय सभापति प्राध्यापक शम्भुराज गौतम, पूर्व सभापति प्रा डा नवराज कट्टेल, पूर्वपरीक्षा नियन्त्रक प्रा डा धनेश्वर नेपाल, वाल्मीकि विद्यापीठका सहायक प्राचार्यद्वय अच्युतप्रसाद लामिछाने र डा रमा भट्टराई, शिक्षाशास्त्री कार्यक्रमका संयोजक डा बिपीराज न्यौपानेलगायतले संस्कृत भाषाको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्वका दिनमा विश्व संस्कृत दिवस मनाउने गरिन्छ । यसैको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो । दिवसमा अवसरमा विभिन्न कार्यक्रम गरी शुक्रबारसम्म मनाइने जनाइएको छ ।
रासस