
सुनाखरी न्युज/ काठमाडौं । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आउनुभएको छैन ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३:०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्कनुभएका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उहाँको खोजी गर्न थालिएको थियो । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजार लगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उहाँले बताउनुभयो ।
सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । उहाँको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अङ्गरक्षकलाई साथमा नलिएर एक्लै हिँड्नुभएकाले पनि खोज्न समस्या भएको बताउनुभयो । रासस