२०८१ बैशाख २० , बिहिवार

बजेट अभावमा भवन अधुरै

Capture – 2023-08-29T163314.296

सुनाखरी न्युज/ काठमाडौं ।
बजेट अभावका कारण काभ्रेपलाञ्चोकमा सामुदायिक भवन अधुरै छन् । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन गरेका क्रमागत योजनाका लागि चालु आवमा बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित बनेको हो ।

प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले सहरी विकास तथा भवन कार्यालयमार्फत गत आवमा काभ्रेपलाञ्चोकमा सञ्चालन भएका र पूरा नभएका भवन निर्माण योजनामा यस वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजन नगर्दा अधुरै रहेका हुन् । छवटा सामुदायिक भवनको काम पूरा गर्नका लागि चालु आवमा बजेट विनियोजन नहुँदा अधुरै रहेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले बताउनुभयो । उहाँका अनुसार ती योजनाका लागि बजेट माग गरे पनि मन्त्रालयबाट रकम विनियोजन भएको छैन ।

मन्त्रालयबाट निर्माणाधीन भवनका लागि रकम विनियोजन नहुँदा बेथानचोक गाउँपालिका–३ मा कुनेखर्क सामुदायिक भवन, महाभारत–३ फोक्सिङटारस्थित सानोपोखरा महिला भवन निर्माणको काम अधुरै छ । यस्तै चौरीदेउराली गाउँपालिका–८ को पोटागैरा माझीबस्ती सामुदायिक भवन, चौरीदेउराली–५ को सहिद स्मृति भवन, मण्डनदेउपुर नगरपालिका–६ को कोदारी सामुदायिक भवन तथा पाँचखाल नपा–३ को महिला सामुदायिक भवन अधुरै छ ।

निर्माणाधीन सामुदायिक भवनमध्ये केहीमा गारो लगाउने, फिनिसिङ गर्ने, कुनैमा ढलान गर्ने तथा फिनिसिङको काम बाँकी रहेको कार्यालयले जनाएको छ । उपभोक्ता समितिमार्फत थालिएको बेथानचोकको कुनेखर्क सामुदायिक भवनको पिल्लर ठड्याएर ढलान गरे पनि गारो लगाउने तथा फिनिसिङ गर्ने काम अधुरै छ । यस्तै महाभारतमा निर्माणाधीन महिला भवनको डिपिसी तथा पिल्लर उठाउने काम सम्पन्न भए पनि गारो लगाउने, ढलान गर्ने तथा फिनिसिङको काम बाँकी छ । यस्तै पूर्वाधार विकास मन्त्रालयअन्तर्गत नै नमोबुद्ध नगरको दाप्चामा निर्माणाधीन पौडेल पाटी निर्माणका लागि दुई वर्षदेखि बजेट विनियोजन नहुँदा अधुरै छ ।
रासस