२०८१ बैशाख ३१ , सोमवार

सांसदसँग जनताको प्रश्न

Samsads

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग सार्वजनिक सुनवाइ गर्नुभएको छ । मतदातासँग मत माग्ने क्रममा हरेक चार÷चार महिनामा सार्वजनिक सुनवाइ गर्ने प्रतिबद्धता जनाउनुभएका उहाँले आइतबार चितवन निर्वाचन क्षेत्र नं २ को नारायणी कला मन्दिरमा पहिलोपटक सार्वजनिक सुनुवाइ गर्नुभएको हो ।

जनप्रनिधि जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सार्वजनिक सुनुवाइ गरिएको चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका लामिछानेले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाइमा उहाँ निर्वाचित भएपछि गरिएका काम, जिल्लाका पालिका र सरकारी कार्यालयका कामप्रति नागरिकले चासो व्यक्त गरेका थिए ।

करिब पाँच घण्टा चलेको कार्यक्रममा नागरिकले भ्रष्टाचार र ढिलासुस्तीका विषयमा सांसद र सरकारी कार्यालयका प्रतिनिधिसँग जवाफ माग गरेका थिए । उनीहरुले सहकारी सञ्चालकले ठगेको विषयमा सदनमा कुरा उठाउन र नागरिकलाई न्याय दिन आग्रह गरे । भरतपुर महानगरपालिका– ९ का पूर्णभद्र कँडेलले सहकारीले साना बचतकर्तामाथि ठगेकामा जानकारी गराउँदासमेत समाधान हुन नसकेको बताउनुभयो । “साहरा सहकारीले पैसा नदिएको हजुरलाई भेटेर नै जानकारी गराएको थिएँ । म दीर्घरोगी पनि छु । मासिक रु ३० देखि ३५ हजार उपचारमा खर्च लाग्छ । सहकारीले पैसा दिँदैन । औषधि उपचार गर्नसक्ने अवस्थासमेत छैन”, आफ्नो पीडा पोख्दै उहाँले भन्नुभयो, “चितवनबाट रु पाँच अर्बभन्दा बढी सहकारी सञ्चालकले ठगी गरेका छन् । बचतकर्ता गाँस बासबाट वञ्चित भएका छन् । सिआइबीसम्म पनि फाइल पुगेको छ । तर अगाडि बढ्दैन ।”

उहाँले सिआइबीलाई फाइल नखोल्नका लागि सञ्चालकहरूले दिएको पनि सुनाउनुभयो ।
सार्वजनिक सुनुवाइमा पूर्वी चितवनमा चल्ने सार्वजनिक सवारीसाधन भरतपुरको केन्द्रीय बसपार्कमै रोकेको विषयले पनि प्राथमिकता पायो । यातायात व्यवसायी बद्रीप्रसाद पौडेलले भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले यस विषयमा पटक्कै ध्यान नदिएको बताउनुभयो । “नारायणगढसम्म सवारीसाधन ल्याउनका लागि वातावरण बनाइदिन पूर्वी चितवनका तीन वटा स्थानीय तहले पत्रसमेत पठाएका थिए तर सवारीसाधनको चापलाई लिएर नारायणगढ आउन दिइएको छैन”, उहाँले भन्नुभयो, “हामीले ४० जना यात्रु एकैपटक ल्याउँछौँ । ती यात्रु ल्याउन कम्तीमा सात वटा म्याजिक चाहिन्छ । एउटा बसले ट्राफिक जाम गराउँछ कि सात वटा म्याजिकले ?”

नगरिकका प्रश्नमा जिल्लाका विषयगत सरकारी कार्यालयका प्रतिनिधिले जवाफ दिनुभएको थियो । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले नागरिकका गुनासो सम्बोध नगरिने जानकारी गराउँदै महानगरपालिकाले गरेका कामका बारे चर्चा गर्नुभयो ।

सांसद लामिछाने सञ्चालनमा ल्याउनुभएको ब्लु बसका विषयमा समेत प्रश्न उठ्यो । भरतपुर महानगरपालिका–५ की भोजकुमारी न्यौपानेले ब्लुबस सबै क्षेत्रमा सञ्चालन गर्न माग गर्नुभयो । “आमाहरु रविको बस चल्छ रे चढ्नुप¥यो भन्नुहुन्छ हाम्रोतिर छैन”, उहाँले भन्नुभयो, “सबैतिर किन सञ्चालन हुन नसकेको हो ?”, प्रतित्तरमा लामिछानेले भन्नुभयो, “एउटै बसले ढाड सेकेको छ । अहिले भएको रुट थप र परिर्वतन गर्न पनि सकिन्छ ।”

कार्यक्रममा गोन्द्राङ नारायणगढको छ लेनको सडक विस्तारको काम, बाइपास रोड, कालिका नगरपालिका जोड्ने भोजाडबाट पदमपुर सडक छिटो निर्माण गर्न नागरिकले अनुरोध गरेका थिए । त्यस्तै नारायणी लिफ्ट, व्यवसायीको समस्यालगायत विषय उठेका थिए ।

सांसद लामिछानेले नागरिकका गुनासा स्थानीय सरकार, जिल्ला प्रशासनसँग कुरा भएको र छिट्टै समस्या समाधान हुने आश्वासन दिनुभयो । उहाँले सार्वजनिक यातायातमा महिलाले सुरक्षित यात्रा गर्नुपर्दछ भन्ने उद्देश्यका साथ बस सञ्चालनमा ल्याइएको र आफूले ल्याएको अवधारणा सबै दलले ल्याए पनि हुनेमा जोड दिनुभयो ।

सय दिनमा सार्वजनिक गरिएको कार्यक्रम सञ्चालनका लागि ११ महिनालाई स्रोत सुनिश्चित भएको सांसद लामिछानेले बताउनुभयो । “ब्लु बस, मोबाइल क्लिनिक र कार्यालय सञ्चालन गर्न २० सदस्यले मासिक ४५ हजार दिनुहुन्छ”, उहाँले भन्नुभयो, “बाँकीका लागि चितवन क्लबको अवधारणा ल्याएका छौँ । यसमा देश विदेशमा रहनुभएका सबै जोडिन सक्नुहुन्छ ।” अहिलेसम्म चार सय ३२ युवाले विदेशबाट फर्किनका लागि इच्छा देखाएको उहाँले बताउनुभयो ।सांसद लामिछानेले भरतपुरको वडा नं १ र २ मा चार हजार आठ सय ७५ बिरुवा रोपिएको र दुई हजार एक सय २८ जनाले मोबाइल क्लिनिकबाट सेवा लिएको पनि जानकारी गराउनुभयो ।
रासस