२०८१ जेठ ५ , शनिवार

विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या घट्यो, बाहिरिने रकम भने बढ्यो

Ministry of Education, Science and Technology

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको छ । पछिल्ला वर्षमा उक्त अवधिमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै उक्त शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढिरहेको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् ।

विश्वबजारमै कोभिडको असर कम भएपछि नेपालबाट विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । कोभिड संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । बढ्दो रेमिट्यान्स आप्रवाह र घट्दो आयातले अहिले विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा छ । तर हरेक महिना विदेश अध्ययन र भ्रमणमा ठूलो रकम बाहिरिँदा दीर्घकालमा मुलुकको विदेशी मुद्रा सञ्चितिमा असार पर्ने नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको भनाइ छ ।

 

 

गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७८-७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष ०७५-७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६-७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको तथ्यांक छ ।

गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले एनओसी लिएको शिक्षा मन्त्रालयले जनाएको छ । यो गत आर्थिक वर्षको भन्दा २ हजार ७ सय ५१ जनाले कम हो । आर्थिक वर्ष ०७८र७९ मा १ लाख १२ हजार ९ सय ६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए । यो एनओसी लिएकाको मात्र संख्या हो । पुराना विद्यार्थीका लागि पनि केही वर्षसम्म घरपरिवारले खर्च पठाउँछन् । यसकारण अघिल्लो वर्षको तुलनामा एनओसी लिनेको संख्या घटे पनि अध्ययनमा बाहिरिने रकम बढेको हो ।

कोभिड महामारी हट्दै गएपछि एनओसी लिनेको संख्या बढ्दै आएको छ । ०७९ साउनदेखि ०८० असार मसान्तसम्म १ लाख २२ हजार ५ सय १४ जनाले एनओसी लिएकामा १२ हजार २ सय ९७ जनाको रद्द गरी १ लाख १० हजार २ सय १७ ले मात्र एनओसी पाएको शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईले जानकारी दिए ।