२०८१ जेठ ५ , शनिवार

विदेशमा आर्जित सीप, प्रविधि र पूँजी नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह

सुनाखरी न्युज/ काठमाडौं ।  अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा रहेका नेपाली समुदायलाई त्यहाँ आर्जन गरेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नुभएको छ ।
ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीआईएफ) को सातौँ विश्व सम्मेलनमा भागलिन क्यानडा पुग्नुभएका अर्थमन्त्री महतले त्यहाँ रहनुभएका नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको र लगानीका लागि पर्याप्त क्षेत्र रहेको पनि उहाँको भनाइ छ । ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यमलगायत क्षेत्रहरूमा लगानीको  आकर्षण रहेको र यी क्षेत्रबाट प्रतिफलको प्रत्याभूत पनि गर्न सकिने अवस्था नेपालमा रहेको अर्थमन्त्री महतले बताउनुभयो ।
नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायस्पोरालाई मद्दत गर्न पनि मन्त्री महतले आग्रह गर्नुभयो । यसैक्रममा उहाँले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचनाबिना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराउनुभएको थियो ।
अर्थमन्त्री डा महत जीईएफको सातौँ विश्व सम्मेलनमा भाग लिन गत आइतबार क्यानाडा पुग्नुभएको थियो । क्यानडाको भ्यानकुअलमा आयोजना भएको उक्त सम्मेलनबाट अर्थमन्त्री डा महत जीआईएफको उपाध्यक्ष पनि निर्वाचित हुनुभएको छ । उहाँ भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ । रासस