२०८१ बैशाख २३ , आइतवार

गठबन्धनलाई कोशीमा सघाउने सर्तमा संसदीय समितिमा राप्रपालाई भाग

Provincial-Assembly-Province-1

सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वाधार विकास समितिमा राप्रपाका दीपक सिंह उम्मेदवार बन्ने भएका छन्। पूर्वाधार विकास समितिमा यसअघि माओवादी केन्द्रका माधव सापकोटाले उम्मेदवारी दिने भनेका थिए।
नेकपा (माओवादी केन्द्र) का सांसद सापकोटाका अनुसार माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिइएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा गठबन्धनलाई सघाउने सर्तमा एक जना सभापति राप्रपालाई दिइएको हो।

कोशीमा सरकार बनाउन र टिकाउन हम्मेहम्मे परिरहेको गठबन्धनलाई साथ दिने सर्तमा राप्रपाले संसदीय समितिमा एक जना सभापति पाउने भएको छ।

 

‘कोशीमा अब राप्रपाले हामीलाई सघाउँछ। राप्रपाबाट त्यहाँ सभामुख बन्नुहुन्छ,’ सापकोटाले भने,‘कोशीमा सघाउने भएपछि हामीले समितिको सभापति उहाँहरूलाई दिने भएका हौं।’

यसअघि पूर्वाधार समिति माओवादीले पाउने समझदारी भएको थियो।

राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरे छ।

प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार सिंहलाई सभापति उम्मेदवार बनाउने निर्णय भएको हो।

सिंहले ऊर्जा राज्यमन्त्रीको पनि जिम्मेवारी सम्हालिसकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सुरूमा राप्रपा पनि सहभागी थियो। सिंह त्यतिबेला राज्यमन्त्री नियुक्त भएका थिए।

कोशीमा राप्रपाका ६ जना सांसद छन्।