२०८१ जेठ ५ , शनिवार

प्रिमियममा माण्डु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

IPO

सुनाखरी न्युज/ काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ।

 

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको छ। यो आईपीओमा कम्पनीले प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरेको छ। यसको अर्थ सर्वसाधारणले आईपीओ भर्दा प्रतिकित्ता २०६ रुपैयाँ तिर्नुपर्नेछ।

 

सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता छुट्याएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमित प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन पाउनेछन्।

 

यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २४ गते बैंकिङ समयपछि हुनेछ। माण्डु हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।