२०८१ बैशाख १५ , शनिवार

एचआइडिसिएलले चार जलविद्युत् आयोजनामा १३ अर्ब ऋण लगानी गर्ने

Sunakhari4

सुनाखरी न्युज/ काठमाडौं । हाइड्रोइलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चारवटा जलविद्युत् आयोजनामा रू १३ अर्ब लगानी गर्ने भएको छ । आज एक औपचारिक कार्यक्रमबीच दुईवटा सार्वजनिक र दुईवटा निजी क्षेत्रका जलविद्युत् आयोजनासँग ऋण लगानी गर्नेसम्बन्धी समझदारीपत्र आदान–प्रदान भएको हो ।

 

एचआइडिसिएलले निजी क्षेत्रतर्फ तमोर इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको दुई सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनामा रू चार अर्ब र सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ५६ मेगावाट उत्पादन क्षमताको सानिमा जुम जलविद्युत् आयोजनामा रू दुई अर्ब ऋण लगानी गर्ने भएको छ । त्यस्तै, सार्वजनिक क्षेत्रतर्फ जगदुल्ला हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको एक सय छ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा रू चार अर्ब र मोदी जलविद्युत् कम्पनीले प्रवर्द्धन गरेको ४२ मेगावाट उत्पादन क्षमताको माथिल्लो मोदी–ए जलविद्युत् आयोजनामा रू तीन अर्ब लगानी गर्ने सहमति भएको छ ।

 

ताप्लेजुङ जिल्लामा बन्न लागेको अपर तमोर जलविद्युत् आयोजनाको कूल लागत रू ५५ अर्ब १५ करोड अनुमान गरिएको छ । यसमा रू चार अर्ब एचआइडिसिएलले लगानी गर्नेछ । त्यस्तै, डोल्पा जिल्लामा बन्ने जगदुल्ला अर्धजलाशययुक्त आयोजनाको कूल लाख रू २२ अर्ब ७८ करोड अनुमान गरिएकोमा एचआइडिसिएलले रू चार अर्ब लगानी गर्न लागेको हो । दोलखामा बन्न लागेको सानिमा जुम जलविद्युत् आयोजनाको कूल लागत रू ११ अर्ब ६० करोड अनुमान गरिएको छ । यो आयोजनालाई एचआइडिसिएलले रू दुई अर्ब ऋण दिएको छ । त्यस्तै, कास्की जिल्लामा बन्ने माथिल्लो मोदी–ए जलविद्युत् आयोजनाको लागत रू १० अर्ब आठ करोड बराबर अनुमान गरिएकोमा रू तीन अर्ब बराबर ऋण एचआइडिसिएलको रहेको छ ।

 

सरकार तथा सरकारी स्वामित्वका कम्पनीको ८० प्रतिशत र २० प्रतिशत सर्वसाधारणको लगानी रहेको एचआइडिसिएलले गत आर्थिक वर्ष २०७९/८० मा बह्मयानी जलविद्युत् आयोजनामा रू ५० करोड, सुपर मादी जलविद्युत् आयोजनामा रू ९१ करोड आठ लाख र सीबाखोला जलविद्युत् आयोजनामा रू १० करोड ऋण लगानी गरेको छ । त्यसअघि एचआइडिसिएलले दोर्दीखोला, न्यादी, त्रिशुली–३ बी, सोलुखोला दूधकोशी र तल्लो लिखु जलविद्युत् आयोजनालगायतमा ऋण लगानी गरिसकेको छ ।

 

हालसम्म एचआइडिसिएलबाट लगानी भएका जम्मा आयोजनाको सङ्ख्या १९ वटा छ । निजी र सार्वजनिक क्षेत्रका यी आयोजनाको विद्युत् उत्पादन क्षमता एक हजार चार सय ६७ मेघावाट बराबर रहेकोमा एचआइडिसिएलको लगानी २१ दशमलव २१ प्रतिशत रहेको जनाइएको छ । त्यस्तै, नौ सय दुई मेगावाट उत्पादन क्षमता बराबरका १२ वटा आयोजनामा शेयर लगानी रहेको पनि एचआइडिसिएलले जनाएको छ ।
रासस