२०८१ बैशाख २३ , आइतवार

अझै टुङिगएन कोरोना बिमाको बाँकी दाबी भुक्तानी विवाद

Insurance

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बिमाको बाँकी दाबी भुक्तानीबारे अर्थ मन्त्रालयमार्फत पहल भइरहेको बताएका छन् । सरकारले दिनु पर्ने रकम नदिएको भन्दै लामो समयदेखि बिमा कम्पनीहरूले कोरोना बिमाको बाँकी दाबी भुक्तानी रोकेको बेला प्राधिकरणका अध्यक्ष सिलवालले यसबारे अर्थ मन्त्रालयमा छलफल भइरहेको बताएका हुन् ।

 

अध्यक्ष सिलवालले कोरोना बिमाको बाँकी दाबी भुक्तानीबारे पहल भइरहेको बताए पनि अर्थ मन्त्रालयले यसबारेमा कुनै निर्णय भएको छैन । कोरोना बिमा मापदण्डअनुसार सरकारले अझै करिब साढे ९ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । मापदण्डको व्यवस्थाअनुसार बिमा कम्पनीहरूले आफूले तिर्नुपर्नेभन्दा बढी दायित्व भुक्तानी गरिसकेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार अहिले पनि करिब १ लाख बिमितको साढे ९ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

निर्जीवन बिमा कम्पनीहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । ‘मर्जरमा गएका बिमा कम्पनीहरूलाई दिने सुविधा, कोरोना बिमाको बाँकी दाबी भुक्तानी र कृषि बिमा अनुदान बारेमा सम्बन्धित मन्त्रालयमा पहल भइरहेको छ,’ उनले भने, ‘सरकारबाट रकम आएपछि विगतमा झैं बिमा कम्पनीहरुमार्फत भुक्तानी हुन्छ ।’

 

यस्तै, अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्न कम्पनीहरूलाई निर्देशन दिएका छन् । ‘प्राधिकरणले बिमा कम्पनीहरूका सुझाव, तथ्यांकको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासहरू समेतका आधारमा देशको आवश्यकताअनुरूप लगानी निर्देशिकाजारी गरेको हो,’ उनले भने, ‘यो समग्र बिमा कम्पनीको हितमा छ, निर्देशिकाले संसारमा चलेका लगानीका क्षेत्र खुला गरेको छ, अब बिमा कम्पनीहरूले बैंकमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधीकरण गर्नुपर्छ ।’

संस्थागत सुशासनलाई अझ सशक्त बनाउन, समस्याहरु दोहोरिन नदिन, जोखिमको प्रतिबद्धतालाई तलमाथि पर्न नदिन, कूल ग्राहस्थ उत्पादनमा बिमाको योगदान बढ्ने गरी लगानी गर्न पनि अध्यक्ष सिलवालले कम्पनीहरूलाई निर्देशन दिएका छन् ।