२०८१ बैशाख २५ , मंगलबार

साढे चार महिनामै हटाइयो शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुखलाई

shyam-lal-gyawali-900px

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ । मन्त्रिपरिषद्को  शुक्रबार बसेको  बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवाली सहितका एआईजीहरुलाई सरुवा गरेको हो ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला ज्ञवालीको सरुवा भएको हो । ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।

 

देउवाले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई पनि हटाउन दबाब दिएको स्रोतको दाबी छ । मन्त्रिपरिषदमा मंगलबारकै  सरुवा सम्बन्धी प्रस्ताव लैजाने तयारी भए पनि रोकिएको थियो । शुक्रबार मन्त्रालयको प्रस्तावमा एआईजी सरुवाको निर्णय भएको हो ।

ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दीपक थापाको सरुवा भएको छ । प्रशासनमा एआईजी मीरा चौधरीको सरुवा भएको छ । चौधरी कार्य विभागमा कार्यरत थिइन् । कार्यमा एआईजी श्याम ज्ञवाली पठाइएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ । मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन् ।

राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै यसअघि नै प्रहरी महानिरीक्षक ९आईजीपी० वसन्तबहादुर कुँवरसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए । उनले बरु आफूलाई राष्ट्रिय सुरक्षा परिसद्को सचिवालयमा पठाउन भनेका थिए ।

राई प्रतिआतंकवाद र अन्तरदेशीय संगठित अपराध अनुसन्धानमा काम गर्ने प्रहरीको गुप्तचरी निकाय विशेष ब्यूरोमा लामो समय काम गरेका अधिकृत हुन् । झण्डै तीन दशक लामो प्रहरी सेवामा उनले चौथो पटक प्रहरीको कुनै युनिटको नेतृत्व गरिरहेका थिए ।