२०८१ बैशाख २५ , मंगलबार

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था

Pashupati32

सुनाखरी न्युज/ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले चन्द्रमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ ।

 

सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चन्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भारतीय धार्मिक पर्यटकको भीड लाग्ने गरेकाले साविककै जस्तो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । यस वर्ष भदौ १४ गतेसम्म चन्द्रमासअनुसार साउन शुक्ल पक्ष परेको छ ।

यसबीचमा भदौ ४ र ११ गते गरी दुई दिन सोमबार परेको छ । दुवै सोमबार महाशिवरात्रि र तीज पर्वकै जस्तो व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अधिकमास परेकाले सौरमासअनुसार साउन महिनामा सोमबारको व्रत गर्ने, नगर्ने भन्नेमा धर्मशास्त्रीबीच नै मतान्तर भएको थियो । प्रत्येक वर्ष साउन महिनाको सोमबार गरिने व्रत नित्य भएकाले अधिकमास परे पनि व्रत गर्नु हुने तर्क एकथरी धर्मशास्त्रीको थियो ।

अर्काथरी धर्मशास्त्रीले अधिकमासका बेलामा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले साउने सोमबारको व्रत गर्न नहुने तर्क गरेका थिए । मतान्तरबीच सौरमासअनुसार साउन महिना सकिए पनि श्रावण शुक्ल पक्षभर पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गर्न लागिएको हो । रासस