२०८१ बैशाख २८ , शुक्रवार

एप्पलको आइफोन १५ सिरिज सार्वजनिक भएलगत्तै टाइप सी पोर्टयुक्त सवैभन्दा सस्तो आइफोन एसई ४ आउँदै

Iphone-C-type-port

सुनाखरी न्युज/ काठमाडौं ।

एप्पलले आइफोन १५ पछि सस्तो मूल्यको आइफोन एसई ४ पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । आइफोन १५ सिरिज लञ्च गर्ने तयारी गरिरहेको एप्पलले बजेट फोनको रुपमा रहेको नयाँ पुस्ताको आइफोन एसई ४ सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन ल्याउन लागेको हो ।
आइफोन एसई ४ को डिजाइन आइफोन १४ जस्तै रहनेछ । साथै यसमा पूरानो फिजिकल पावर बटनको साटो फेस आइडी राखिने सम्भावना छ । स्मरण रहोस् हालको आइफोन एस ई थ्री मा फिजिकल पावर बटन छ । यो फिजिकल बटन भएको एप्पलको एकमात्रै आइफोन हो ।

एप्पलले आइफोन १५ सिरिजमा राख्न लागेको टाइप सी पोर्ट आइफोन एसई ४ मा पनि हुनेछ जसले यस मोडेलमा रहेको पूरानो लाइटनिङ पोर्टलाई विस्थापित गर्नेछ ।

फोनको पछाडिको भागमा एउटा मुख्य क्यामरा हुनेछ । आइफोन एसई ४ मा आइफोन १५ सिरिजमा हुने भनिएको एक्सन बटन पनि रहने बताइएको छ । यसले प्रयोगकर्तालाई डिस्प्लेमा शर्टकटहरु थप्न र प्रयोगकर्तालाई सबैभन्दा धेरै प्रयोग हुने एप तथा क्यामरा खोल्न सजिलो पार्नेछ ।

आइफोन एसई ४ मा ए१५ वा ए१६बायोनिक चिप हुने र फाइभ जी सपोर्ट गर्ने बताइएको छ । यसको आधारभूत मोडेलमा १२८ गिगाबाइट स्टोरेज क्षमता हुनेछ ।

यो आइफोन आगामी स्न् २०२४ को पूर्वार्धसम्ममा सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । यसको मूल्य ठ्याक्कै कति पर्नेछ भन्ने एकिन नभएपनि विगतका सिरिजको मूल्यका आधारमा आइफोन एसई सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुने चाहीँ पक्का छ ।

स्मरण रहोस् एप्पलले आगामी सेप्टेम्बर १२ मा हुने समारोहमा आफ्नो आइफोन १५ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । त्यसक्रममा एप्पलले एप्पल वाचको नबौँ संस्करण पनि लञ्च गर्नेछ ।

एजेन्सी