२०८१ बैशाख २९ , शनिवार

नेपाल भाषासहित राष्ट्रिय भाषामा समाचार सेवा सम्प्रेषण गर्न अनुरोध

Capture – 2023-08-15T172712.972

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल भाषासम्बद्ध प्राज्ञिक तथा आमसञ्चार क्षेत्रका अगुवाहरूले नेपाल भाषासहित प्रमुख राष्ट्रिय भाषामा समाचार सेवा सञ्चालन गर्न राष्ट्रिय समाचार समिति (रासस) समक्ष अनुरोध गर्नुभएको छ ।

नेपाल भाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दर, सन्ध्या टाइम्स पिथना प्रालिका अध्यक्ष रमेशकाजी स्थापित, नेपाल भाषा टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धरलगायतका नेपाल भाषा संरक्षण तथा प्रवर्द्धन अभियानमा क्रियाशील व्यक्तित्वहरूले आज राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग भेटगरी संविधानको मर्म र भावनाबमोजिम राष्ट्रिय भाषामा पनि समाचार सेवा प्रवाह गर्न राससको ध्यानाकर्षण गर्नुभएको हो ।

भेटघाटका क्रममा राससका पूर्वमहाप्रबन्धकसमेत रहनुभएका भाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दरले संविधानमा व्यवस्था भएको समावेशी सिद्धान्तलाई आत्मसाथ गरी देशभित्र सबैभन्दा धेरै बोलिने नेपाल भाषा, मैथिली, भोजपुरीलगायतका भाषामा क्रमशः समाचार सेवा सञ्चालन गर्न रासस नेतृत्वसमक्ष अनुरोध गर्नुभयो ।

मुलुकको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै नेपाल भाषासम्बद्ध अभियन्ताहरूले विभिन्न भाषामा समाचार सम्प्रेषण गर्ने सोचका साथ अघि बढेको वर्तमान रासस नेतृत्वलाई सहयोग गर्न आफूहरू सदैव तयार रहेको स्पष्ट गर्नुभयो ।

राससका कार्यकारी अध्यक्ष झाले राष्ट्रिय भाषाको संरक्षण र प्रवर्द्धनका लागि समाचार सामग्री उत्पादनमा जोड दिनुपर्ने खाँचो औँल्याउँदै देशभित्र भाषा प्रयोग गर्ने व्यक्ति र आमसञ्चार माध्यम समेतका दृष्टिले नेपाल भाषा र मैथिली भाषामा समाचार बुलेटिन प्रकाशन गर्ने सोचका साथ छलफल प्रक्रिया अघि बढाइएको स्पष्ट गर्नुभयो ।

उहाँले आर्थिक कठिनाइ व्यहोरिरहेका विशेषगरी साना लगानी र राष्ट्रिय भाषाका आमसञ्चार माध्यमलाई बचाउने दायित्व राज्यको भएकाले त्यसका लागि आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित विभिन्न स्थानीय तहहरूमा निरन्तररूपमा वकालत गरिरहेको जानकारी दिनुभयो । बदलिँदो परिवेशलाई आत्मसाथ गरी राष्ट्रिय भाषामा समाचार सेवा सञ्चालन गर्ने पक्षमा रासस रहेको स्पष्ट गर्दै अध्यक्ष झाले स्रोत सुनिश्चित भएसँगै नेपाल भाषा र मैथिली भाषामा समाचार सेवा सञ्चालन गरिने स्पष्ट गर्नुभयो ।

उहाँले राष्ट्रिय भाषामा समाचार सेवा सञ्चालन गर्ने प्रक्रियामा रहेको राससलाई सहयोग गर्न तराईका केही पालिका इच्छुक रहेको जानकारी दिँदै काठमाडौँ उपत्यकाभित्रका पालिकाहरूबाट पनि आवश्यक साथ, सहयोग प्राप्त हुने वातावरण तयार गरिदिनुहुन नेपाल भाषासम्बद्ध सङ्घ, संस्था र अभियन्तासँग अनुरोध गर्नुभयो ।
रासस