२०८१ जेठ ५ , शनिवार

ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाको माग

Capture (9)
सुनाखरी न्युज/ काठमाडौं ।  पोखरा उद्योग वाणिज्य सङ्घले पोखरामा कम्पनी रजिष्ट्रार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय स्थापनाको माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग गरिएको हो ।
अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती बेहोर्नु परेको भन्दै मागको सम्बोधन गर्न आग्रह गर्नुभयो । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निजी क्षेत्रको माग सम्बोधनका लागि सरकारले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । ज्ञापनपत्रमा गण्डकी सरकारको बजेट वक्तव्यमा उल्लेखित औद्योगिक क्षेत्र निर्माणका लागि तत्काल पहलकदमी लिन, प्रदेशका लाइफ लाइन मानिएका राजमार्गको स्तरोन्नतिलाई गति दिन माग गरिएको छ ।
पोखरा अन्तर्राष्टिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल एवम् पोखराको प्रचारमा जुट्न, वन पैदावारको उचित उपयोगको नीति तत्काल तय गर्न, नयाँ पदयात्रामार्ग निर्माण तथा पर्यटकीय गन्तव्यको विकासमा यथोचित ध्यान दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा अर्थतन्त्र सही दिशामा नहिँडेको जिकिर गर्दै असहाय र किंकर्तव्यविमुढको अवस्थाबाट गुज्रिरहेको निजी क्षेत्रलाई उत्साहित बनाउनसमेत माग गरिएको छ । प्रतिनिधिमण्डलमा अध्यक्ष प्रजापतिसहित वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य, कोषाध्यक्ष दिनेश बाँस्तोला लगायतको उपस्थिति थियो । रासस