२०८१ जेठ ५ , शनिवार

स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै

सुनाखरी न्युज/ काठमाडौं । सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

 

लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि आधुनिक तथा प्रविधिमैत्री तरिकाले तरकारी खेतीमा लागेका हुन् । आर्थिक वर्ष २०७७÷७८ देखि लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका ५६ जना किसान तरकारी खेतीमा लागेको सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यसमितिका अध्यक्ष प्रेमनारायण भुसालले बताउनुभयो । उहाँले ५६ जनामध्ये ४५ जना किसान व्यावसायिक कृषि पेसामा लागेको जानकारी दिनुभयो । किसानको मागका आधारमा किसानलाई बीउ मल तथा अत्याधुनिक उपकरणसमेत प्रदान गरेको अध्यक्ष भुसालको भनाइ छ ।

तरकारी खेतीलाई आधुनिकीकरण र व्यावसायिक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रमले आफूहरुलाई सहयोग गरेको किसान गोपालप्रसाद खनालले बताउनुभयो । उहाँले किसानको मागका आधारमा मिनिटिलर, डिजिटल काटा, पानी तान्ने मोटर पम्प, स्केयर, प्लास्टिक टनेल जस्ता सामग्रीका साथै उन्नत जातका मौसमी तथा बेमौसमी तरकारीका बीउ मलसमेत किसानले प्राप्त गरेको बताउनुभयो ।

किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको उहाँको भनाइ छ । बजार नजिक भएकाले पनि उत्पादित तरकारी सन्धिखर्क र चुत्राबेँसीमा बिक्री हुने गरेको किसानको भनाइ छ ।

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको र समयको पनि बचत भएको किसान दीपक नेपालीले बताउनुभयो । उत्पादित वस्तु स्थानीय बजारमानै खपत भएको र बढी भएमा छिमेकी आसपासका जिल्लामा बिक्री वितरण भएको जानकारी दिनुभयो ।

आधुनिक प्रविधिबाट किसानलाई व्यावसायिक बनाउन र कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो । जसका कारण कृषकहरु व्यावसायिक बनेर राम्रो उत्पादन गरेको बताउदै किसानको आयआर्जनमा समेत वृद्धि भएको जानकारी दिनुभयो । रासस