२०८१ बैशाख २२ , शनिवार

राससका समाचारमा सुधारका सङ्केत देखिँदै

rasas

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस) का सेवाग्राहीले राससका समाचारमा सुधारका सङ्केत देखिन थालेको बताएका छन् ।

राससले आज यहाँ आयोजना गरेको ‘समाचार सेवाको गुणस्तर र प्रभावकारिता’ विषयक सेवाग्राहीसँगको अन्तरक्रिया कार्यक्रममा आलेख, लेख एवं समाचार सामग्रीमा सुधारका सङ्केत देखिएकामा अब त्यसलाई पूर्णता दिनुपर्नेमा जोड दिएका हुन् । समाचारको भाषाशैलीलगायत विषयमा भने अझै सुधार गर्नुपर्ने अवस्था रहेकामा जोड दिएका हुन् ।

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सुझावलाई सकारात्मकरूपमा लिएको उल्लेख गर्नुहुँदै त्यसलाई कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाउनुभयो । सेवाग्राहीले खोजेको कोण, आमुख र शीर्षकमा समाचार नपाए पनि राससले दिएका समाचारलाई पुनःलेखन गरेर उपयोग गर्न सकिने उहाँको भनाइ थियो ।

विश्वका धेरै समाचार संस्थाले शीर्षक नदिने गरे पनि राससले दिने गरेको बताउनुहुँदै अध्यक्ष झाले त्यसलाई सञ्चारमाध्यमले आफू अनुकुल पनि प्रयोग गर्ने गरेको सुनाउनुभयो । आजको कार्यक्रमको सुझावअनुसार बिहानी सेवामा प्रयोग भएका समाचारलाई सुधार गरिने स्पष्ट गर्दै उहाँले समाचारलाई समूह छुट्याएर प्रवाह गर्ने सोच बनाइने उहाँले बताउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससले दिइरहेको सेवाका विषयमा सेवाग्राहीसँग सुझाव लिएर त्यसअनुकूल सुधार पनि गर्न लागिएको जानकारी गराउनुभयो । अर्धवार्षिकरूपमा यस्ता कार्यक्रम गर्न लागिएको उल्लेख गर्नुहुँदै उहाँले कोभिड महामारीपछि दोस्रोपटक यस किसिमको कार्यक्रम गरिएको बताउनुभयो ।

रासस सञ्चालक समिति सदस्य डिल्लीराम भट्टराईले सेवाग्राहीका कुरालाई गम्भीरताका साथ लिएर सुझावलाई सम्पत्तिका रूपमा ग्रहण गरिने प्रतिबद्धता जनाउनुभयो । सुझावका आधारमा सञ्चालक समितिले नीतिगत निर्णय गर्ने भनाइ पनि उहाँले राख्नुभयो ।

राससका नायब महाप्रबन्धक राजु शाक्यले निजी क्षेत्रको सहकार्यमा श्रव्यदृश्य सेवा दिइएको उल्लेख गर्नुहुँदै सात प्रदेश र ७७ वटै जिल्लाका सामग्री समेट्ने प्रयास गरिएको बताउनुभयो । अर्का नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले सेवाग्राहीसँगको सम्बन्ध सुमधुर बनाउन कार्यक्रम गरिएको बताउनुभयो ।

नायब महाप्रबन्धक सोमनाथ लामिछानेले सेवाग्राहीको यसअघिको सुझावकै आधारमा राससले खोजी समाचार सम्प्रेषणका लागि गृहकार्य गरेको सुनाउनुभयो । रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पछिल्लो समय रासस र गोरखापत्रले मानिसले देख्ने गरी सुधार गरिरहेकाले यसलाई अझै परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । राससका आलेख शाखा प्रमुख कृष्ण अधिकारीले नियमितरूपमा लेख, आलेख र अन्तरवार्ता दिइएको बताउनुभयो ।

प्रमुख समाचारदाता उत्तम सिलवालले सेवाग्राहीको सुझावका आधारमा परिष्कृत समाचार दिइने प्रतिबद्धता जनाउनुभयो । प्रधानसम्पादक एकराज पाठकले पत्रकारिता हतारको साहित्य भएकाले र पछिल्लो पाँच वर्षमा नेपाली शब्दकोश परिवर्तन भइरहेकाले भाषा एवं शैलीगतरूपमा केही कमजोरी भएको स्वीकार गर्नुभयो । वासिङ्टन पोष्टको एक दिनका समाचारको अध्ययन गर्दा १८ वटा त्रुटि भेटिएको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई सुधार भने गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा अर्थतन्त्र डटकमका सम्पादक रामेश्वर कार्की, विद्युत् सञ्चार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठ, व्यवस्थापन डटकमका सम्पादक देविका घर्तीमगर, वेबटिभी डटकमका सम्पादक अमन कोइराला, विकास टाइम्सका कार्यकारी सम्पादक दीपक आचार्य, रेडियो नेपालका समाचार प्रमुख पवन प्याकुरेल, मिरमिरे अनलाइनका कार्यकारी सम्पादक सिर्जना तिमल्सिना, ब्रिटिश गोर्खा रेडियोका सम्पादक भीम आत्रेय, गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराई, कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवाली, सौर्य दैनिकका प्रबन्धक सम्पादक भरतराज पोखरेल, नेपाल जापान डटकमका सम्पादक यादव देवकोटा, दैनिकी डटकमका सम्पादक माधव तिवारीलगायतले राससका समाचारमा सुधार हुँदै गएकाले अझै सुधार एवं परिष्कृत गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
रासस