२०८१ बैशाख २३ , आइतवार

आरोग्य केन्द्रमार्फत निःशुल्क उपचार र औषधि वितरण

सुनाखरी न्युज/ काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिकको घरमै पुगेर निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिरहेको छ ।

 

भौगोलिकरूपमा विकट रहेको गाउँपालिकाको विभिन्न वडामा पुगेर केन्द्रले आयुर्वेदिक सेवा प्रदान गरिरहेको हो । यस केन्द्रबाट आर्थिक वर्ष २०७९÷८० मा दुई हजार दुई सय ४० जनाले उपचार सेवा लिएको केन्द्र प्रमुख मङ्गल विष्टले जनाकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट योग सेवा लिने दुई सय ६१, पञ्चकर्म (थेरापी) लिने चार सय ७० र सामान्य प्याथोलोजी सेवा लिने एक सय १० जना रहेका छन् । केन्द्रबाट निःशुल्क औषधिसमेत वितरण हुने गरेको प्रमुख विष्टले बताउनुभयो । गत आवमा रु सात लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यहाँबाट २३ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएकोे छ ।

 

विसं २०७७ मा स्थापना भएको यो केन्द्रमा इच्छाकामनासहित गोरखाको सहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । यो केन्द्र पृथ्वी राजमार्गसँगै जोडिएकाले यात्रुले समेत सेवा लिने गरेको प्रमुख विष्टले बताउनुभयो । केन्द्रमा दैनिक १० देखि १५ बिरामी आउने गरेका छन् । “सेवा केन्द्रलाई एक जना कर्मचारीको भरमा चलाउनुपरेको छ”, उहाँले भन्नुभयो, “गाउँमै पुगेर सेवा दिनुपर्ने भएकाले जनशक्तिको अभाव छ ।” प्रमुख विष्टले पछिल्लो समय केन्द्रबाट निःशुल्क ल्याब सेवासमेत प्रदान गरिएको बताउनुभयो । “मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत केन्द्रलाई ल्याब प्राप्त भएको छ, बिरामीको घरमै पुगेर ल्याब टेष्ट गर्छौं”, उहाँले भन्नुभयो । ल्याब सुरु भएको एक महिनामै एक सय १० जनाले सेवा लिएका थिए। केन्द्रमार्फत नागरिकलाई दिनुपर्ने न्यूनतम सेवा दिएको भन्दै उहाँले बजेट र कर्मचारीको अभावका कारण समस्या भएको बताउनुभयो ।

 

इच्छाकामनालाई केन्द्रित गरेर सेवा दिने उद्देश्यले सेवा केन्द्र स्थापना भएको हो । वडाध्यक्ष नरबहादुर नेपालले सेवा केन्द्र स्थापनापश्चात् आयुर्वेद उपचारका लागि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले यस वर्ष गाउँपालिकाले पनि यहाँ कर्मचारी व्यवस्थापनका लागि सहयोग गर्ने बताउनुभयो । वडाध्यक्ष नेपालले आयुर्वेदिक उपचारबारे गाउँमा धेरैलाई जानकारी नरहेकाले समय समयमा स्वास्थ्य शिविर आयोजना गरेरसमेत उपचार गरिरहेको जानकारी दिनुभयो । रासस