२०८१ बैशाख ३१ , सोमवार

‘अर्थतन्त्रको बलियो आधार कृषि र पशुपालन’

सुनाखरी न्युज/ काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले तीन तहका सरकारले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ ।
सात प्रदेशका कृषिमन्त्री, पोखरा महानगरपालिकाका प्रमुख, प्रदेशका कृषि सचिवबीच आज भएको विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले तीन तहकै सरकारबीच समन्वयको आवश्यकता औँल्याउनुभयो । मुलुकको विकासका लागि मिलेरै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अर्थतन्त्रको बलियो आधार कृषि र पशुपालन नै हो । यसलाई प्रभावकारी ढङ्गले भूमिका निर्वाह गर्नका लागि हामी बीच समन्वयको जरुरी छ ।”
मन्त्री भुसालले अब छिट्टै कृषि ऐन ल्याउने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले कृषि ऐन बनाउन आवश्यक छलफल भएको भन्दै अझै ऐनमाथि सुझाव, सल्लाह दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो । आफ्नो पहलमा स्कुस, टमाटरलगायतका कृषि उपज निर्यात भएको बताउँदै उहाँले निर्यातलाई थप प्रभावकारी बनाउन आगामी सेप्टेम्बरमा आयोजना हुने नेपाल र भारतका सचिवस्तरीय बैठकले दुई देशबीच कृषि र पशुपालनबारे आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।
तीन वर्ष अगाडि आएको लम्पी स्किन रोग देशभर फैलनुको कारण पूर्वतयारीकै कमी भएको बताउँदै मन्त्री भुसालले सम्भावित विपत्बारे पूर्वतयारी गर्नुुपर्नेमा जोड दिनुभयो । लम्पी स्किनबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउनेबारे आवश्यक तयारी भइरहेको उहाँको भनाइ थियो । उक्त बैठकमा सङ्घ, प्रदेश र स्थानीय तह कृषि तथा पशुपक्षी क्षेत्र समन्वय निर्देशिकाबारे आवश्यक छलफल गरी यसलाई पारित गर्ने निर्णय भएको छ ।  रासस