२०८१ बैशाख २३ , आइतवार

सडक निर्माणका लागि पहिले अध्ययनमा जोड दिन विज्ञको सुझाव

सुनाखरी न्युज/ काठमाडौं । भौतिक पूर्वाधार क्षेत्रका विज्ञले निर्माणमा जानु पहिले अध्ययनमा बढी जोड दिनुपर्ने सुझाव दिएका छन् ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित नेपालमा भविष्यमा कस्तो सडक बनाउने भन्ने छलफलमा उहाँहरूले अध्ययनमा लगानी बढाउन सुझाव दिनुभएको हो । विज्ञ मेघराज धितालले कुनै पनि आयोजनाको गहिरो अध्ययन गरेर मात्रै निर्माणको काम सुरु गरिनुपर्ने सुझाव दिनुभयो । अध्ययन नगरी सुरु गर्दा लागत बढ्ने समयमा नसकिनेजस्ता झन्झट आउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “आयोजनाको विस्तृत अध्ययनका लागि कूल बजेटको दुई प्रतिशत रकम विनियोजित गर्नुपर्दछ ।”

विज्ञ बिबी देउजाले भौतिक पूर्वाधार क्षेत्रलाई सुधार गर्ने र सडकको आयु लम्ब्याउने हो भने राजनीतिक नेतृत्वले गलत काम गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । सडकको विषयमा गहिरो अध्ययन गर्न एउटा शक्तिशाली समिति गठन गर्नुपर्नेमा उहाँको जोड छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल सुरु गर्नुभएको हो । सडक गाउँबस्तीमा पु¥याउनुपर्ने भए पनि धेरै गाउँबस्ती चुरे र महाभारत शृङ्खलामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती ठाउँसम्म सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न चुनौती रहेको छ ।”

अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो ।

नेपालमा विगत र वर्तमानका सडकको अवस्था, त्यसको भूबनोट र भविष्यमा कस्ता स्थानमा बनाउँदा सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरिएको हो । मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माण र सडक सुरक्षामा थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञ टोलीसँग राय सल्लाह माग्नुभएको छ ।

विज्ञहरूले खर्चिलो भए पनि नेपालको भूगोलअनुसार सुरुङमार्गमा जान सुझाव दिनुभयो । सडक बनाए पनि बाढी पहिरोले सडकको आयु छोटो हुने गरेको उहाँहरूको भनाइ थियो । त्यो समस्या हल गर्न सुरुङमार्गमा जान सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न उहाँहरूले सुझाव दिनुभयो । रासस