२०८१ बैशाख २१ , शुक्रवार

साउन ३२ बाट आईपीओ ल्याउँदै सन नेपाल लाइफ

IPO

सुनाखरी न्युज/ काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही साउन ३२ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

 

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

 

यसैगरी कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ जारी गर्नेछ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १४ गते बैंकिङ समयपछि हुनेछ। सन नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।