२०८१ जेठ ५ , शनिवार

रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते

सुनाखरी न्युज/ काठमाडौं ।
रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। मंगलबार दिउँसो १ बजे त्रिवेणी गाउँपालिका-७ को तिला भन्दा झन्डै ३ किलोमिटर टाढा बस दुर्घटनामा परेको हो। बस दुर्घटनामा परी १५ यात्रु घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारू मगरले जानकारी दिए। उनका अनुसार तीन जनाको अवस्था गम्भीर छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको उनले बताए। रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले बताएको छ।

चालक फरार रहेपनि दिउँसो २ बजे सशस्त्र प्रहरीको सम्पर्कमा पुगेको खबर आएको डिएसपी मगरले बताए। वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।