२०८१ बैशाख २३ , आइतवार

गर्भवतीलाई पोषिलो खाद्यान्न वितरण

Capture (19)

सुनाखरी न्युज/ काठमाडौं । सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ । सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो ।

नगरप्रमुख महेशप्रसाद चौधरी हरेक महिनाको २२ गते गर्भवतीलाई खाद्यान्न वितरण गर्दै आउनुभएको छ । जन्मिने नवजात शिशु स्वास्थ्य रहोस् भनेर यो कार्यक्रम लागू गरिएको उहाँले बताउनुभयो ।

“गर्भवती तथा सुत्केरी अवस्थामा साविकभन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पोषिलो खाना र सरसफाइमा गर्भवती तथा घरपरिवारका महिलाको ध्यान पुगोस् भनेर पोषिलो खाद्यान्न वितरण गरिएको हो ।”

सहजरूपले आयआर्जन गर्न नसकेका गर्भवतीका लागि केही हदसम्म भए पनि राहत मिलेको नगरप्रमुख चौधरीले बताउनुभयो । सधैँ आश्वासनमात्र बोकेर आउने जनप्रतिनिधि यसरी पोषिलो खानेकुरा लिएर आएकामा स्थानीय गर्भवतीले खुसी व्यक्त गरेका थिए । रासस