२०८१ बैशाख २९ , शनिवार

एक वर्षमा २१ हजार व्यापारीद्वारा नापतौल यन्त्र जाँच

naptaul
सुनाखरी न्युज/ काठमाडौं । देशभर एक वर्षमा २१ हजार चार सय ६४ व्यापारीले नापतौल यन्त्रको जाँच गरेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा देशभरका विभिन्न कार्यालयमा आएर २१ हजार चार सय ६४ व्यापारीले नापतौल यन्त्रको जाँच गराएका हुन् ।
जाँच गराउन आएकामध्ये सबैभन्दा बढी काठमाडौँ कार्यालयमा रहेको छ  । काठमाडौँ कार्यालयमा मात्र एक वर्षमा आठ हजार आठ सय ५८ व्यापारीले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा नवीकरण गराएको कार्यालय प्रमुख राकेशकुमार झाले राससलाई जानकारी दिनुभयो ।
यस्तै, पोखरा तीन हजार २०, बुटवल सात सय ४५, नेपालगञ्ज एक हजार सात सय ४०, सुर्खेत सात सय, धनगढी एक हजार पाँच सय, सिलगढी दुई सय १४, वीरगञ्ज एक हजार तीन सय २४, जनकपुर पाँच सय नौ, विराटनगर एक हजार एक सय ९७ र झापा कार्यालयमा एक हजार ६ सय ५७ व्यापारीले नापतौल यन्त्रको जाँच गराएका छन् ।
विभागका महानिर्देशक दीनानाथ मिश्रले नापतौल यन्त्र जाँच नगराएका व्यापारीप्रति विभागले कडाइ गरेको बताउनुभयो । “नापतौल तथा नाप्ने तौलने यन्त्र नयाँ लिन तथा पुरानोलाई नवीकरण गर्नका लागि हामीले विभिन्न कार्यक्रममार्फत ‘डोर टू डोर’ अभियानसमेत सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो ।
सोही आवमा नौ हजार सात सय ३० व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमतिपत्र तथा इजाजतपत्र प्रदान गरिएको विभागले जनाएको छ । नयाँ अनुमतिपत्र तथा इजाजतपत्र प्रदान गर्ने कार्यालयमा काठमाडौँले तीन हजार चार सय ४०, पोखरा एक हजार ९९, बुटवल सात सय ४९, नेपालगञ्ज पाँच सय ७५, सुर्खेत तीन सय ७५, धनगढी सात सय ७१, सिलगढी एक सय ११, वीरगञ्ज पाँच सय ६५, जनकपुर दुई सय ३४, विराटनगर नौ सय ४४ र झापा आठ सय ६७ रहेका छन् ।
एक वर्षको अवधिमा चार हजार चार सय ९३ पेट्रोलियम पदार्थ वितरण गर्ने पम्पलाई जाँच गरेको विभागले जनाएको छ ।
यसैगरी नौ सय ५३ भेहिकल ट्याङ्क जाँच, आठ हजार पाँच सय ४२ ट्याक्सीको मिटर जाँच गरेको छ । नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि विभागले आव २०७९/८० मा एक हजार सात सय छ पटक एकल अनुगमन र एक हजार एक सय १३ पटक संयुक्त अनुगमन गरेको छ भने ३३ वटा अभियोगपत्र अदालतमा दायर गरेको जनाएको छ । विभागले सोही अवधिमा रु सात करोड ४५ लाख २४ हजार नौ सय ३७ राजस्व सङ्कलन गरेको छ ।
रासस