२०८१ बैशाख १९ , बुधवार

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब पूर्णरुपमा अनलाइनबाट

Capture (75)

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गर्नुभयो ।

सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए ।

सो अवसरमा मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने जानकारी दिनुभयो ।

यसबाट जनताले खेप्नुपर्ने हैरानीको अन्त्य हुने र खर्चको समेत बचत हुने बताउँदै उहाँले दुर्गममा बसेर पनि राज्यले प्रदान गर्ने सेवा सहजै प्राप्त हुने उल्लेख गर्नुभयो । फरक प्रसङ्गमा उहाँले वर्तमान सरकार सदैव छिमेकी तथा मित्र राष्ट्रहरुसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

वर्तमान गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रियसम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनतको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस