२०८१ बैशाख १९ , बुधवार

पानी पार्ने प्रणाली नेपालतिर सर्‍यो, तीन दिन मनसुन सक्रिय हुने

weither

सुनाखरी न्युज/ काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले  न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) सरेकाले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने जनाएको छ । आगामी तीन दिन देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षा हुने प्रक्षेपण मौसमविदको छ ।

 

मौसमविद सन्जिब अधिकारीले भने, ‘नेपालको पूर्व र पश्चिम दुवै साइडमा न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने र मनसुन थप सक्रिय हुने देखिन्छ ।’ तीन दिन लगातार झरी नहुने तर वषरको क्रम बढ्ने उनले बताए ।

 

मधेशमा पर्याप्त पानी नपर्दा समस्यामा परेका किसानहरुलाई यो वर्षाले केही राहत मिल्ने सम्भावना छ । ‘मधेशमा पनि आगामी तीन दिन वर्षा हुने र केही समयदेखिको खडेरी अलि तोडिनेजस्तो देखिन्छ,’ मौसमविद अधिकारीले भने ।

गएराति पनि मधेश प्रदेशका एक-दुई स्थानमा वर्षा भएको थियो । यो क्रम आज र भोलि अझै बढ्ने सम्भावना रहेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।