२०८१ बैशाख २५ , मंगलबार

बागमती प्रदेश प्रहरी कार्यालयबाट गत आवमा १८ करोडको भन्सारजन्य सामग्री बरामद

Capture (1)

सुनाखरी न्युज/ काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७९/८० मा रु १८ करोडभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ । प्रदेशका १० जिल्लामा विभिन्न सामग्री नियन्त्रण गरी रु १८ करोड १० लाख १५ हजार सात सय ३१ बराबरको भन्सारजन्य सामग्रीसँगै ८० जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी दीपक रेग्मीले बताउनुभयो ।

बागमती प्रदेशभरिमा सबैभन्दा बढी चितवनबाट रु एक करोड २६ लाख नौ सय ६० बराबरको सात सय ४६ ग्राम सुन, तीन सय ८१ क्युफिट अवैध काठबाट रु १३ लाख ४१ हजार चार सय ७१ र अवैध अन्य सामग्रीबाट करिब रु पाँच करोड ४४ लाख २२ हजार तीन सय ८३ गरी रु छ करोड ८३ लाख ६४ हजार आठ सय १५ बराबरको भन्सारजन्य सामग्री बरामद भएको र १९ जना पक्राउ भएको रेग्मीले बताउनुभयो ।

यस्तै मकवानपुरबाट गत आवमा रु एक करोड १७ लाख ८५ हजार दुई सय ४४ बराबरको सात सय ८४ ग्राम सुनसँगै रु तीन करोड ९८ लाख ८४ हजार दुई सय ७९ बराबरको अन्य अवैध सामग्री र रु तीन लाख ४७ हजार दुई सय ३० बराबरको एक सय पाँच क्युफिट काठ बरामद गरी जम्मा रु पाँच करोड ३८ लाख १५ हजार दुई सय ५४ बराबरको भन्सारजन्य सामग्री बरामदसँगै दश जनालाई पक्राउ गर्न सफल भएको छ ।

यस्तै सिन्धुलीबाट रु एक करोड ५७ हजार छ सय नौसहित छ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले बताउनुभयो । यस्तै काभ्रे जिल्लाबाट अवैध सामग्रीबाट रु ९३ लाख ९३ हजार नौ सय ४६ र ३० क्युफिट काठ बरामदमार्फत रु ५७ हजार पाँच सय गरी रु ९४ लाख ५१ हजार चार सय चार बराबरको भन्सारजन्य सामग्री बरामदसहित आठ जनालाई नियन्त्रणमा लिइएको छ ।

यस्तै सिन्धुपाल्चोकबाट एक सय ७३ क्युफिट काठ बरामदबाट रु दुई लाख ७९ हजार दुई सय ७५ बराबरको भन्सारजन्य सामग्री बरामदसहित १३ जना पक्राउ परेका छन् भने नुवाकोटबाट तीन सय ८४ क्युफिट काठ बरामदबाट रु चार लाख ६२ हजार ५० बराबरको भन्सारजन्य सामग्री बरामदसहित नौ जना पक्राउ गरिएको छ । यस्तै धादिङबाट अवैध सामग्री बरामदबाट रु दुई करोड २१ लाख सात हजार आठ सय ५८ र चार सय २९ क्युफिट काठ बरामदबाट रु तीन लाख ९८ हजार गरी रु दुई करोड २५ लाख पाँच हजार आठ सय ५८ बराबरको भन्सारजन्य सामग्री बरामदसहित नौ जना पक्राउ गरिएको छ ।

उता रसुवाबाट दुई सय ६० ग्राम चाँदी बरामदबाट रु छ लाख १८ हजार नौ सय दुई, अन्य अवैध सामग्री बरामदबाट रु एक करोड ४९ लाख ४१ हजार दुई सय ३० रूपैयाँ गरी रु एक करोड ५५ लाख ६० हजार एक सय ३२ बराबरको सामग्री बरामदसहित छ जनालाई पक्राउ गरिएको रेग्मीले बताउनुभयो । गत आवमा रामेछाप र दोलखामा भन्सार छली गरी ल्याइएका सामानहरू कुनै पनि पक्राउ नभएको उहाँले बताउनुभयो ।
रासस