२०८१ बैशाख २५ , मंगलबार

अवैध लागूऔषधसहित पक्राउ

arrest1

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ मिलिग्रामसहित झापा दमक नगरपालिका-१० बस्ने २२ वर्षीय महेश धिमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित प्रहरी चेक प्वाइन्टमा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००१ख ५५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं,महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ सय ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका घर भई कीर्तिपुर डेरा गरी बस्ने १९ वर्षीय अमित यादव र पाँचथर याक्थुम्मा गाउँपालिका-१२ घर भई कीर्तिपुर डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले प्र.३-०१-०२२ च २२२५ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । यस्तै काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ५० ट्याब्लेटसहित सिन्धुली सुनकोशी गाउँपालिका-१ घर भएका ३४ वर्षीय बैकुण्ठ श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बु र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले प्र.३-०२-००४ प ८४७६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, नोर्फिन ५ सय एम्पुल र फेनारगन ४ सय ९८ एम्पुलसहित धनुषा नगरी बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २३९८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको डिक्किमा लुकाई ल्याएको उक्त लागूऔषधसहित बसका सहचालक किशोरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।