२०८१ बैशाख १७ , सोमवार

बुटवलमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क

सुनाखरी न्युज/ काठमाडौं ।
बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरु गरेको छ ।

बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गर्नुभएको हो । नगर प्रमुख पाण्डेयले नगरले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरिरहेको जनाउँदै शिशु पोषण कार्यक्रमअन्तर्गत रु दुई हजार, महिलाको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताउनुभयो ।

उहाँले उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थालाई अझ सुविधासम्पन्न बनाउने र छिट्टै नै बुटवल–१३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताउनुभयो ।

उहाँले महिलाको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमितरुपमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरीलाई दुग्धवर्धक जटीबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरी, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको सहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सरे निःशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताउनुभयो ।

बुटवलका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहीको चापलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने उहाँले बताउनुभयो । सेवाग्राहीको चाप र मागअनुसार सबै स्वास्थ्य संस्थाबाट नियमितरुपमा निःशुल्क सेवा दिने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।
रासस