२०८१ बैशाख २२ , शनिवार

लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा

bima

सुनाखरी न्युज  / काठमाडौं –  बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ । उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ । स्वास्थ्य मन्त्रालयले सीमान्तकृत लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता ( क) र ( ख)वर्ग भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो । कूल १३ जिल्लाका एक सय १९ वडामा स्वास्थ्य बीमा गराउन लागिएको हो ।

 

मन्त्रालयका अनुसार गत आवमा आश्रममा आश्रितहरुको मात्र बीमा गरिएको थियो । चालु आवमा बीमा बोर्डमार्फत प्रत्येक वडासम्म पुग्ने गरी कार्यक्रम तय गरिएको छ । स्वास्थ्य बीमा नभएका कारण औषधि उपचार गर्दा महँगो खर्च हुने र पैसा अभावकै कारणले उपचार गराउन पाउन समस्या छ । सोही समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारले लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको हो । निःशुल्क बीमामा अधिकतम पाँच जनासम्मको परिवारलाई रु एक लाखदेखि एक लाख २५ हजारसम्मको बीमा गरिन्छ । बीमितले तोकिएको सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार र औषधिको सुविधा पाउनेछन ।

स्वास्थ्य बीमा बोर्डका अनुसार मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म करिब एक लाख ५२ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बीमा भइसकेको छ । पाँच वर्षअगाडि सुरु गरिएको बीमा कार्यक्रम अन्तर्गत ९१ प्रतिशतले नवीकरण गराइसकेका छन । रासस