२०८१ बैशाख २२ , शनिवार

बुटवलमा डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट अभियान

dengu
सुनाखरी न्युज/ काठमाडौं । बुटवल उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकामा बसेको सरोकारवालासहितको बैठक तथा अन्तक्र्रिया कार्यक्रमले आजदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो ।
विद्यालय, सङ्घसंस्था र अस्पताललाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेङ्गु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उहाँले बताउनुभयो ।
छलफलका क्रममा डेङ्गु महामारीको समयमा डेङ्गु परीक्षण शुल्कमा एकरूपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको र स्वास्थ्यसम्बन्धी निजी र सरकारी अस्पतालले डेङ्गुबारेका सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बुटवल उपमहानगरपालिकामा तत्काल डेङ्गुका सङ्क्रमितको सङ्ख्या नबढिसकेकाले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको छ ।
उहाँले हरेक कार्यालयमा हरेक शुक्रबार १० बजे १० मिनेट कार्यक्रम सञ्चालन गर्दै डेङ्गु नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न आह्वान गर्ने बताउनुभयो । हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्नसक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकैरूपमा सञ्चालन हुने उहाँले बताउनुभयो ।
सङ्क्रमितको तथ्याङ्क एकीकृतरूपमा सङ्कलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताउनुभयो । निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेको सङ्ख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । रूपन्देहीमा ४६ जना सङ्क्रमित फेला परेको अस्पतालले बताए पनि बुटवलमा अहिलेसम्म सङ्क्रमित फेला परेका छैनन् ।
कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेङ्गु नियन्त्रणमा नगरले नियमितरूपमा अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले सबैले एकसाथ अभियान सञ्चालन गरेर सङ्क्रमण फैलिन नदिनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले आवश्यक पूर्वतयारी र उपचारका लागि सबै सामग्री तयारी अवस्थामा राख्ने बताउनुभयो । आवश्यकताअनुसार फिभर क्लिनिक र औषधि उपचारको व्यवस्था गर्ने उहाँको भनाइ थियो । रासस