२०८३ बैशाख २२ , मंगलबार

अर्थतन्त्र उकास्न सबै दल एक हुनैपर्छ : कांग्रेस नेता भण्डारी

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद शङ्कर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरुको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ ।

आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको छ, ठेकेदारलाई रु ८० अर्ब दिन बाँकी छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्छ ।”

देश बनाउने कुरामा पार्टी संविधान संशोधन गरेर भए पनि एक हुनुपर्ने भनाइ उहाँको छ । राजनीतिक दलका नेता आफ्नो पार्टीको मूल बाटो छाडेर निजी स्वार्थ र भ्रष्टाचारमा लाग्दा जनताको आकर्षण राजनीतिप्रति शून्य प्रायः नै भएकाले अब राजनीतिक दल नयाँ ढङ्गबाट अगाडि बढ्नुको विकल्प नरहेको भनाइ उहाँको थियो ।

“देश बचाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भए पनि एक हुनैपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय स्वाधीनताप्रति दलहरु विचलित हुनुहुदैन् ।” समाजवाद उन्मुख अर्थनीति अगालेका नेपालका नेता आफ्नो स्वार्थपूर्तिमा मात्र लागेपछि नेपाली जनताले कसरी विकास र समृद्धिको आशा गर्ने ? उहाँको प्रश्न थियो । राजनीतिक सङ्कटका बेला दलहरुकै नेताबाट आपाराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनै बढी राजनीतिक वितृष्णा जागेको उहाँले बताउनुभयो ।

नयाँ गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि कुनै शक्ति केन्द्रबाट चलेको छ भन्ने कुरा केही समयपछि जनताले नै स्पष्ट रुपमा थाहा पाउने भनाइ उहाँको छ ।
नेपाललाई धर्म निरपेक्षता राष्ट्र घोषणा गर्दादेखि नै नेपाल कमजोर भएको र देशप्रतिको स्वाधिनता हराउँदै गएको जिकिर गर्दै उहाँले संविधान संशोधन गरेर भए पनि देशलाई सनातन वैदिक हिन्दू राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस