२०८१ बैशाख २१ , शुक्रवार

नक्कली प्रहरी बनेर लुटपाट गर्ने तीन जना पक्राउ

सुनाखरी न्युज /  काठमाडौं –  ‘प्रहरी हुँ’ भन्दै भारतीय नागरिकको अपहरण गरी लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका- ५ का बास्सा भनिने रवि साउद, ल्याङ भनिने सुरेन्द्र विष्ट र भुवन ऐर रहेको डोटी प्रहरीले जनाएको छ ।  प्रहरीको विशेष ब्यूरोबाट सादा पोशाकमा खटिएका प्रहरी हौँ भनेर शुक्रबार दुई भारतीय नागरिकलाई उनीहरुले अपहरण गरेर लुटपाट गरेका थिए।

 

भारतको पिलिभितका २४ वर्षीय मोहित कुमार र उनीसँगैका उद्यमसिंहनगर घर भई हाल महेन्द्रनगरमा काम गर्ने अशरफ अहमदलाई सादा पोशाकका प्रहरी हौँ भनेर अपहरण गरेका थिए। अशरफ अहमद अपहरणमा परेका थिए । लुटेराहरुले उनीहरूलाई अपहरण गरेर कलुवापुरस्थित कालिका सामुदायिक जंगलमा लगेर यूके ०६ एजे ८०४२ नम्बरको मोटरसाइकल, मोबाइल, १९ हजार नगद, भारतीय आधार कार्ड र सवारी चालक अनुमतिपत्र लुटेका थिए ।

 

घटनालगत्तै पीडितहरूले अस्थायी प्रहरी बिट कलुवापुरमा जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । लुटेको भारतीय नम्बरको मोटरसाइकल, नगद तथा मोबाइल फिर्ता गरिएको छ । पक्राउ परेको तीनैविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।