२०८१ बैशाख २१ , शुक्रवार

दोषीमाथि हदैसम्मको कारबाहीको माग

सुनाखरी न्युज/ काठमाडौं ।
दलित समुदायका अगुवाले बझाङमा भएको घटनाप्रति दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले वित्थडचीर गाउँपालिका वडा नं ७ स्यालढुङ्गाको बाहुनबस्ती नजिकै पुड्के ओखडाले बनाउँदै गरेको घर केही समूहले भत्काएको र उक्त घटनामा संलग्नलाई कारबाहीको माग गरिएको हो ।

गत साउन १० गते स्थानीय कृष्ण जोशी, भवानी जोशी, कित्थे जोशीलगायत ४० भन्दा बढी गैरदलित बाहुन समुदायले बाहुनको घरमाथि दलितले घर बनाउन नमिल्ने भन्दै निर्माणाधीन घर भत्काइ दिएका थिए । जातीय भेदभावजन्य गालीगलौज, कुटपिट र निर्माणाधीन घर भत्काउँदै उनीहरुले रु १२ लाख बराबरको चल÷अचल सम्पत्ति नष्ट गरिदिएको दलित अगुवाको दाबी छ ।

त्यसैगरी कैलालीको गैरीगङ्गा नगरपालिका–७ की सरस्वती खड्का र गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्माले अन्तरजातीय विवाह गर्दा भोग्नुपरेको पीडाबारे पनि दलित अगुवाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोही अवसरमा पूर्वराज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय सदस्य आशा विकले जातीय विभेदका कुनै पनि घटनालाई राजनीतिकरण गर्न नहुने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्ष गणेश विकले सार्वजनिक जग्गामा घर बनाएको भनेर बझाङको उक्त घटनालाई तोडमोड गर्ने काम भइरहेको दाबी गर्नुभयो ।

संविधानसभाका सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य अफिलाल ओखेडाले अझै पनि सिङ्गो दलित समुदाय विदेभले आक्रान्त रहेको बताउनुभयो । जातीय विभेदका घटनामा संलग्न सबै व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ बमोजिम कडाभन्दा कडा कारबाही गर्न अगुवाहरुको माग छ ।
रासस