२०८१ बैशाख २२ , शनिवार

एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, अब आवाजबाटै क्यूआर भुक्तानीको जानकारी तत्काल प्राप्त हुने

सुनाखरी न्युज/ काठमाडौं ।‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ।

 

एनआईसी एशिया बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरुले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन्। समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरुका साथ लाखौँ ग्राहकमाझ आधुनिक बैंकिङको अभ्यास गरिरहेको बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुआत गरेको हो।

 

बैंकले ल्याएको यस नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्नेछन्। बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दासमेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको छ। क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्टहरु तथा लाखौँ ग्राहकबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ।

 

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङसञ्जालहरु भएको बैंकहरुमध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरु, ५४६ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यो बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. २३ अर्ब ५८ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ६६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ।

 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।