२०८१ बैशाख २१ , शुक्रवार

आँखुखोला जलविद्युतको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले निकट भविष्यमा जारी गर्न लागेको चुक्तापुँजीको १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

यसका साथै आँखुखोला जलविद्युतले नबिल इन्भेस्टमेन्टलाई आफ्नो सेयर रजिस्ट्रारमा पनि नियुक्त गरेको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा आँखुखोला जलविद्युतका तर्फबाट कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा सेयर रजिस्ट्रार सम्बन्धी सम्झौतापत्रमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन्।

 

काठमाण्डौबाट करिब १३२ किलोमिटर टाढा धादिङ जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरुमध्ये एक हो। आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ। औसत वार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ। ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ। कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ।

 

सम्झौतामा नबिल इन्भेस्टमेन्टले आँखुखोला जलविद्युतका शेयरधनीहरुलाई हकप्रद सेयर निष्कासनसम्बन्धी कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा विज्ञप्तिमा उल्लेख गरिएको छ।