सुनाखरी न्युज/भोजपुर।
राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका छवटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो ।
बाढीले धेरै ठाउँमा सडक गहिरो गरी कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउन समस्या देखिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । बाढीले ठूलो क्षति गरेकाले स्थानीय सरकारको पहँुचभन्दा बाहिर रहेको उहाँको भनाइ छ । “राउतेको बाढीले हाम्रो वडामा करोडौँको क्षति भएको छ”, उहाँले भन्नुभयो, “यो खोलासित जोडिएका सबै सडक बगाएको छ । सडक अवरोध हुँदा दैनिकी कष्टकर बनेको छ । यहाँको क्षतिको विषयमा राज्यको ध्यान जानु आवश्यक छ ।”
बाढीले १६ सिँचाइ कुलोसँगै एक झोलुङ्गे पुल बगाएको थियो । खोलामा निर्माण भइरहेका पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । टेम्केमैयुङ–९ लेखर्कमा बाढीले बगाउँदा एक इन्जिनियरको ज्यान गएको थियो ।
“बाढीका कारण एक महिनादेखि यातायात सञ्चालनमा समस्या छ”, उहाँले भन्नुभयो, “खोलाले धेरै ठाउँमा कटान गरेकाले कतिपय बस्ती जोखिमा छन् । सिँचाइ कुलो बगाउँदा किसानलाई खेती गर्न समस्या भएको छ । यस्तो हुँदा पनि राज्यको ध्यान पुगेको देखिँदैन ।”
बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने सडक एक महिनादेखि बन्द हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीय मानबहादुर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले सडक बगाउँदा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । तत्काल सडक मर्मत गर्न सकिने अवस्था छैन । वैकल्पिक मार्ग बनाउनु पर्छ ।”
विभिन्न ठाउँमा बाढीले क्षति गरेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । छिमेकी जिल्ला खोटाङका बिरामीलाई अस्पताल लैजान समस्या भएको छ । यातायात असुविधाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन । राउते खोलाको शिरमा डाँडापाखा रहेकाले वर्षा हुनासाथ आसपासको क्षेत्र जोखिममा पर्ने गरेको स्थानीय टङ्क घिमिरेले बताउनुभयो । गत असार ८ गते खोला थुनिएर बाढी बस्तीमा पस्दा स्थानीयको घरसँगै अन्नबालीमा क्षति पुर्याएको उहाँको भनाइ छ ।
माथिल्लो भेगको धेरै ठाउँमा पहिरो गएकाले जुनसुकै अवस्थामा बाढी बस्तीमा छिर्ने देखिन्छ । त्यही स्थानबाट सडक मर्मत गरेर सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन । पहिला सर्भे भएको ठाउँबाट वैकल्पिक सडक विस्तार गर्न आवश्यक छ । गाउँपालिकाले विपद् कोषबाट सडक सञ्चालनमा ल्याउन पहल गरिरहेको टेम्केमैयुङका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले राज्यका अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ ।
“बाढीको कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको अवस्था छ”, उहाँले भन्नुभयो, “स्थानीयको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाको विपद् कोषबाट मर्मत गरेर सञ्चालनको तयारीमा जुटेका छौँ । धेरै ठाउँमा सडक बगाएको छ । गाउँपालिकाको बजेटले मात्र सबै ठाउँमा मर्मत गर्न असम्भव देखिएको छ । त्यसका लागि माथिल्लो निकायमा ध्यानकर्षण गराएका छौँ ।”
बाढीको कारण समस्या परेका स्थानीयलाई तत्काल केही आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । पाइप वितरण गरेर खानेपानी तथा सिँचाइ कुलो सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ । क्षतिको विवरण सङ्कलन गरेर प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटका लागि माग गरेको राईले बताउनुभया।
रासस