सुनाखरी न्युज/ काठमाडौं । कपिलवस्तुमा अवैध भारतीय रुपियाँ र स्रोत नखुलेको नेपाली रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षीय सुनिलकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।
सोही नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपियाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा गुप्ता पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।
कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपियाँ २४ लाख १३ हजार २५५ र अवैध भारतीय रुपियाँ १४ लाख ९४ हजार ९२० गरी ४८ लाख पाँ हाजर १२७ रुपियाँसहित गुप्तालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।
पक्राउ परेका गुप्तालाई सो रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।