२०८१ बैशाख १९ , बुधवार

कुमारी क्यपिटल पनि नेसनल पेमेन्ट स्विचमा आबद्ध

सुनाखरी न्युज/ काठमाडौं । कुमारी क्यपिटल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस) मा आबद्ध भएको छ।

 

यसका निम्ति कुमारी क्यपिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौतापश्चात कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्नुका साथै क्यापिटलका डिभिडेन्ड भुक्तानी, तलब, भेन्डर भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ। पहिलो चरणमा क्यापिटलका इकाइधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र अन्य विभिन्न सेवा पनि थपिनेछन्।

 

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पीएसपी÷पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका १०० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन्। मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्तलगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीएसअन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन्।

 

कुमारी क्यपिटल कुमारी बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले सन् २०१७ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, लगानी व्यवस्थापनदेखि डिपोजिटरी पार्टिसिपेन्टसम्बन्धीलगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ। कुमारी क्यापिटलले सधैँ आफ्ना ग्राहकलाई सहज हुने सेवाहरु प्रदान गर्दै आएकोमा यस डिजिटाइजेसनसम्बन्धीको थप व्यवस्थाले क्यापिटलको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।