२०८१ बैशाख २२ , शनिवार

सानिमा बैंक र स्विसकन्ट्याक्ट नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज-२ बीच सहकार्य हुने

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्यपत्रमा हस्ताक्षर भएको छ।

 

कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरुको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुनेछ। यस सहकार्यअनुसार कृषि कर्जाको प्रक्रियालाई प्रबिधिकरण गर्ने, कृषि कर्जासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यावसायिक साक्षरता कार्यक्रमको आयोजना गर्ने तथा कृषि उद्यमीहरुको आवश्यकतालाई प्रभावकारी रुपमा पूरा गर्न बैंकका कर्मचारीलाई प्रशिक्षण दिनेजस्ता कार्यहरु गरिनेछ।

 

उक्त अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिए। सानिमा बैंकको सातै प्रदेशमा गरी १३२ कार्यालय र १२२ एटीएम सञ्जाल सञ्चालनमा रहेका छन्।