सुनाखरी न्युज/ काठमाडौं।ओखलढुङ्गा सदरमुकाम नजिकै जिविस खोरिया टोलमा पहिरोले तीन घरमा क्षति पुर्याएको छ ।
सोमबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको सिद्धिचरण नगरपालिका–१२ को जिविस खोरिया टोलमा मङ्गलवार बिहान गएको पहिरोले तीन घर र एउटा कुखुरा फार्ममा क्षति हुनुको साथै दुई जना घाइते घाइते हुनुभएको छ। बस्तीभन्दा पाँच सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय सोमबहादुर खत्रीको तीन तला आधाको पक्की घरमा क्षति पुगेको छ । पहिरोले घरको बीच तलाको पछाडि भाग भत्किँदा ५० लाख बराबरको क्षति भएको छ । सोही घरमा कोठा भाडामा बस्ने भारतको दार्जिलिङ घर भएका ३२ वर्षीय नितेश राईको खुट्टामा चोट लागि घाइते हुनुभएको छ ।
यस्तै पहिरोले स्थानीय पेशल खत्रीको तीन तले पक्की घरको पछाडिको भागमा क्षति पुग्दा ५० लाख बराबरको क्षति भएको छ । सोही घरमा भाडामा बस्ने जिल्लाको मोलुङ गाउँपालिका ५ निवासी २९ वर्षीय नवीना धमलाको बायाँ खुट्टामा सामान्य चोट लागि घाइते हुनुभएको छ।
सुनकोसी गाउँपालिकाका कोलबहादुर खत्रीले कुखुरा फार्म पहिरोले पुरिदा ७० वटा भन्दा बढी कुखुरा मरेर एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनु भयो ।