२०८१ जेठ ६ , आइतवार

चार वर्षसम्म अलपत्र परेको घोराही–तुलसीपुर सडकको मर्मत सुरु

सुनाखरी न्युज/ काठमाडौं ।  घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडकको मर्मत सुरु भएको छ । चार वर्षअघि निर्माणcरु भएर अलपत्र परेको उक्त सडकको आइतबारदेखि मर्मतको काम अघि बढेको हो । सडक मर्मत दुई प्याकेजमा हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।पहिलो  प्याकेजमा  घोराहीको कुइरेपानीदेखि गुर्जेखोलासम्मको करिब १३ किलोमिटर र दोस्रो प्याकेजमा गुर्जे खोलादेखि तुलसीपुरसम्मको १७ किलोमिटर सडक पर्ने डिभिजन कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर रिकेश महर्जनले बताए ।

 

घोराही क्षेत्रको १३ किलोमिटर सडक मर्मत रोल्पा निर्माण सेवा र तुलसीपुर क्षेत्रको १७ किलोमिटर सडक मर्मत रोल्पा स्वच्छन्द जेभीले गर्नेछ । घोराही क्षेत्रको सडक मर्मतको ठेक्का एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रको ठेक्का एक करोड १६ लाख रुपैयाँमा लागेको छ ।

 

०७६ सालमा भारतीय निर्माण तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीले  घोराही-तुलसीपुर चारलेन सडक निर्माणको जिम्मा पाएको थियो । तर चार वर्ष बित्दा पनि सडक निर्माणको काम अघि नबढेपछि सडक अलपत्र परेको थियो । पटक पटक म्याद थप्दा पनि काम अघि नबढेपछि गत असारमा सरकारले ठेक्का रद्द गरेको थियो ।

 

त्यसपछि सरकारले यो सडक मर्मतका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेट अनुसार सडक मर्मतको काम सुरु भएको कार्यालय दाङका सूचना अधिकारी महर्जनले बताए। उनका अनुसार चारलेन सडक अन्तर्गत दुई लेन सडकमात्र मर्मत हुनेछ । असारमा ठेक्का सम्झौता भएर असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको उनले बताए ।