२०८१ जेठ ४ , शुक्रवार

गैरनाफामुलक फाउन्डेसनको क्यान्सर विरोधी लडाइँलाई म्यामोग्राफी मेसिन बरदान सावित : क्यान्सर केयर फाउन्डेसन अध्यक्ष पन्त

सुनाखरी न्युज/ काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण भएको छ ।

कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले गैरनाफामुलक फाउन्डेसनको क्यान्सरविरोधी लडाइँलाई उक्त मेसिन बरदान सावित हुने बताउनुभयो । आर्थिक स्रोतको कमी बीच क्यान्सरविरोधी अभियान सञ्चालन गरिरहेको फाउन्डेसनलाई विभिन्न संस्थाले सहयोग गरिरहेको पनि उहाँले बताउनुभयो ।

फाउन्डेसनका महासचिव डा. सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिन्छ भन्ने मान्यता बोकेर सन् २०१४ मा स्थापित संस्था विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताउनुभयो । उनले म्यामोग्राफी मेसिन दाताबाट प्राप्त सहयोगमध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि बताउनुभयो । क्यान्सरको आँकडामा महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर अहिले उच्च बिन्दुमा रहेको भन्दै उनले स्थापनाकालदेखि यिनै प्रमुख क्यान्सरलाई केन्द्रमा राखी यसबाट बचाउन विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैंले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पु¥याइरहेको पनि उनले जानकारी दिनुभयो ।

फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र अर्यालले जापान सरकारको यो सहयोगबाट संस्थालाई यसको लक्ष्यमा पुग्न निकै सहज हुने बताउनुभयो । उक्त म्यामोग्राफी मेसिन संस्थाका लागि असाध्यै बहुमूल्य उपकरण भएको भन्दै यसले संस्थाको परिकल्पना र संकल्पलाई मूर्त रुप दिलाउन ठूलो सहयोग गरिरहेको आर्यलले बताउनुभयो । उक्त सहयोगका लागि जापान सरकारलाई धन्यवाद ज्ञापन गर्दै अर्यालले यसलाई नेपाल र जापानबीचको बलियो सम्बन्ध एवं नेपालप्रति जापान सरकारको सद्भावको साक्षीको रुपमा चित्रण गर्नुभयो ।

 

 

रासस